दक्षिणकालीमा एसईईमा सफल विद्यार्थीलाई सम्मान तथा करियर काउन्सिलिङ

काठमाडौं । साहस नेपालले काठमाडौँको दक्षिणकाली नगरपालिकाबाट माध्यमिक शिक्षा परीक्षा (एसईई)२०७९ मा उत्तिर्ण छात्रछात्रालाई सम्मान गरेको छ । सल्लाघारी बाराहिडोलस्थित सामुदायिक भवनमा आयोजित कार्यक्रममा दक्षिणकाली नगरपालिका वडा नं ४ बाट सामुदायिक र संस्थागत विद्यालयमा अध्ययनरत १५ जना छात्रछात्रालाई सम्मान तथा करियर काउन्सिलिङ कार्यक्रमको आयोजना गरिएको हो । सम्मानित १५ जना मध्ये २ जना ए प्लस, ७ जना ए, ४ जना बि प्लस, २ जनाले बि ल्याएका थिए ।

एसईईमा सफल दक्षिणकाली वडा नं ४ का सबै छात्रछात्रालाई प्रमाणपत्र र डायरी हस्तान्तरण गरिएको संस्थाका संस्थापक अध्यक्ष प्रकाश विशुन्केले जानकारी दिनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि दक्षिणकाली नगरपालिकाका मेयर मोहन बस्नेतले अबको शिक्षा प्रविधिमैत्री रहेकोले विद्यार्थीहरुले त्यसतर्फ ध्यान दिन जरुरी रहेकोमा जोड दिनुभयो । विषयगत समिति मार्फत शैक्षिक क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गर्दै विभिन्न कार्यक्रम अघि सारेको मेयर बस्नेतले बताउनुभयो ।

सम्मान कार्यक्रमसँगै सिद्धार्थ बैंक लिमिटेड, फर्पिङ शाखाका प्रमुख उज्जवल खड्का क्षेत्रीले विद्यार्थीहरुसँग ‘एसईई पछि के’ भन्ने उद्देश्यले आयोजित करियर काउन्सिलिङ कार्यक्रममा विद्यार्थीहरुसँग अन्र्तक्रिया गर्नुभयो । एसईईपछिको शैक्षिक भविष्यबारे गम्भीर हुनको लागि विद्यार्थीहरुलाई प्रेरणा दिइएको थियो । उहाँले विद्यार्थीहरुलाई अहिलेदेखि नै मेहनत गरे जीवनमा सक्षम र सफल हुन सकिने भन्दै हरेक कुराको सफलता व्यवस्थापनमा अडिएको बताउनुभयो । कार्यक्रममा, वडा नं ४ का जनप्रतिनिधि, युवा समाजसेवी लगायतको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us