चितवन । पवित्र धार्मिक एवम् तीर्थस्थल देवघाटमा स्नान गर्ने भक्तजनको भीड लागेको छ । आज साउनको पहिलो दिन सोमबार परेकाले पनि बिहानैदेखि भक्तजनको भीड लागेको हो । कालीगण्डकी र त्रिशूली नदीको सङ्गमस्थल देवघाटमा हरेक वर्षको साउने सङ्क्रान्तिमा बोलबम मेला लाग्ने गर्छ ।
भोलिदेखि मलमास सुरु हुने भएका कारण पनि आज पहिलो सोमबार भक्तजनको भीड लागेको देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालले बताउनुभयो । उहाँले मेलामा सुरक्षालगायतका व्यवस्थापनका काम गरिएको बताउनुभयो ।
साउने सङ्क्रान्तिसँगै नेपालीको अधिकांश चाडपर्व सुरु हुने भएकाले पनि यसको महत्व रहेको छ । यो दिन सबेरै उठी स्नान गरी सूर्यलाई जल अर्पण गरी ब्राह्मण–पुरोहितबाट सङ्क्रान्तिफल सुन्ने चलन छ ।
गाउँघरमा साँझपख यो दिन लुतो फ्याँक्ने गरिन्छ । अमिला फल, कुरिलो, कुकुर डाइनो, भलायोलगायतका वनस्पति बिहानै घरमा ल्याएर राख्ने र साँझतिर अगुल्टोसहित लुतो फ्याँक्ने चलन छ । यसरी लुतो फ्याँक्नाले वर्षभरि रोगब्याधिबाट मुक्ति पाइने विश्वास छ ।
औँसी तिथि र सोमबार एकै दिन परेकाले आज सनातन धर्मावलम्बीले सोमबारे औँसीसमेत मनाउँछन् । पवित्र धार्मिक तीर्थस्थल देवघाटधाममा हरेक वर्ष साउनको सोमबार मनाउँदै आइरहेको बोलबम मेलालाई यस वर्ष मलमासले प्रभावित पार्ने भएको छ । मलमासमा कुनै कामना राखेर गरिने धार्मिककार्यको फल प्राप्ति नहुने धार्मिक विश्वास रहेकाले यसपटक मेला प्रभावित हुने भएको हो ।