उपत्यकाको फोहोर व्यवस्थापन रोकियो

काठमाडौं । पटक–पटक रोकिंदै आएको काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन सोमबारदेखि पुनः रोकिएको छ । अन्तिम फोहोर व्यवस्थापनस्थल आसपासका बासिन्दाको अवरोधका कारण सोमबार काठमाडौं उपत्यकाको फोहर व्यवस्थापन हुन नसकेको हो ।

यसअघि काठमाडौं महानगरपालिकासँग भएको सहमति कार्यान्वयन नभएको भन्दै नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनीबेँसी नगरपालिकाका केही बासिन्दाले अवरोध गरेकाले सोमबार उपत्यकाका १८ स्थानीय तहको फोहर व्यवस्थापन हुन नसकेको हो । धुनीबेँसी नगरपालिका–१ का वडाध्यक्ष मानबहादुर तामाङका अनुसार सहमति भएको एकवर्ष वितिसक्दासम्म महानगरले स्थानीयवासीको मागप्रति व्यवास्ता गरेकाले आजदेखि फोहर व्यवस्थापनमा रोक लगाइएको हो ।

उहाँले भन्नुभयो, “फोहोर र मानिससँगै बस्नै सक्दैन, की फोहोरलाई अन्यत्र व्यवस्थापनका लागि प्रबन्ध गर्नुपर्‍यो की उक्त स्थानका बासिन्दालाई उपयुक्त स्थानमा स्थानान्तरण गर्नुपर्‍यो, अन्यथा फोहर व्यवस्थापनमा समस्या आइरहन्छन् ।” आज बिहान फोहर बोकेर ल्याण्डफिल्ड साइटमा जाँदै गरेका गाडी स्थानीयवासीको अवरोधका कारण बञ्चरेडाँडा र सिसडोलको बीचमै रोकिएको पनि वडाध्यक्ष तामाङले जानकारी दिनुभयो ।

फोहोर बोकेका करिब ५० वटा गाडी रोकिएका थिए । स्थानीयवासीले सहमतिका नाममा आफूहरूलाई झुक्याइएको आरोप लगाएका छन् । कामपाले यसअघि कुहिने र नकुहिने फोहोर वर्गीकरण गरेर कुहिने फोहर मात्र व्यवस्थापन गर्नेलगायत सहमति ल्याण्डफिल्ड साइट पीडित क्षेत्रका बासिन्दासँग गरेको थियो ।

यता कामपाको पूर्वाधार सल्लाहकार सुनिल लम्सालले यसअघि स्थानीयवासीसँग भएको सम्झौताअनुसार नै काम भइरहेको भन्दै फोहर व्यवस्थापनमा रोक लगाउनु राम्रो नभएको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us