कांग्रेस केन्द्रीय समिति बैठक प्रत्यक्ष प्रशारण गरिने

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आजदेखि शुरु हुँदैछ । करिब एक वर्षपछि केन्द्रीय समिति बैठक बस्न लागेको हो । यसअघि सोमबार बसेको पदाधिकारी बैठकले आज बस्ने बैठकका एजेण्डा तय गरेको छ।

धुम्बाराहीस्थित पार्टी सभापति शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारी बैठकले विभिन्न १० वटा एजेण्डा तय गरेको हो । एक वर्षपछि बस्न लागेको केन्द्रीय समिति बैठकको लाइभ प्रशारण गर्न सभापति देउवाले प्रस्ताब गर्नुभएकाे छ ।

देउवाले नेताहरुले बोलेको तथ्यभन्दा बेग्लैरुपमा मिडियामा समाचार आएको भन्दै बैठक नै लाइभ गर्न प्रस्ताव  गर्नुभएकाे हाे। उहाँले पार्टीको आधिकारिक फेसबुक पेज, अनलाइन, टेलिभिजन लगायतबाट लाइभ गर्ने प्रस्ताव गरेपनि सो विषयमा सबैको एउटै धारणा भने नआएको बुझिएको छ ।

त्यस्तै पदाधिकारी बैठकले नीति अधिवेशनको मिति तय गर्ने र राष्ट्रव्यापी संगठन सुदृढीकरण अभियान सञ्चालन गर्नेजस्ता विषयलाई केन्द्रीय समितिको एजेण्डा बनाएको छ । पार्टीका विभाग थप गर्ने, संसदमा कांग्रेसको भूमिका, सरकारका कामकारबाही लगायतका एजेण्डा केन्द्रीय समितिमा लैजाने बताइएको छ ।

मंगलबार दिउँसो १ बजेदेखि केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय समिति बैठक बोलाइएको छ। लामो समयपछि बस्न लागेको बैठकलाई चासोपूर्वक हेरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *