कविता: उ के थियो ?

अनिश खतिवडा, भक्तपुर ।

कथामा प्रेमको मिठो सुवास थियो,
होइन यो त गन्ध हो भन्दै नाक खुम्च्याउनेको भिडभाड थियो।

त्यो दिन थियो कि रात थियो,
अल्मलियो बालक त्यो विचरा जो झमक्क साँझमा निद्राबाट ब्युँझिएको थियो।

उ आन्दोलनकारी थियो कि तमाशावाल
हुटहुटीमा आन्दोलनमा जानेहरू, शहीदको सुचीको सुरुवातमा थियो।

त्यो घोडा थियो कि गधा थियो,
खच्चर पनि त हुन्छ एक जन्तु भन्ने ज्ञानको उनीहरूमा कमी थियो।

उ चोर थियो कि नेता थियो,
कुनै दिन आफैले समातेको एक फटाहालाई, आफैले सल्यूट हान्नु पर्ने प्रहरीको बाध्यता थियो।

उ लडेको हो कि लडाईंएको हो,
बैशाखी टेक्ने मान्छेलाई हिलोको बाटो देखाईएको थियो।

उ दानी थियो कि लोभी थियो,
छिमेकमा घनघोर आगो लाग्दा पनि भरि इनारको पानी उसले पैंचोमा दियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us