एजेन्सी । भारतीय जनता पार्टीको औपचारिक निमन्त्रणामा भारत भ्रमणमा रहेको नेकपा (माओवादी केन्द्र)को प्रतिनिधिमण्डलले भाजपाका अध्यक्ष जगतप्रकाश (जेपी) नाड्डासँग भेटवार्ता गरेको छ ।
उपाध्यक्ष पम्फा भुसालको नेतृत्वमा गएको माओवादी केन्द्रको प्रतिनिभिमण्डलले नयाँ दिल्लीस्थित भाजपाको मुख्यालयमा गरेको भेटवार्तामा दुई पार्टीबीचको अनुभव आदानप्रदान एवं दुई देशबीच रहीआएको सम्बन्धका विविध विषयमा छलफल भएको थियो । भेटवार्ताबारे जानकारी दिँदै उपाध्यक्ष भुसालले दुई पार्टीबीचको सम्बन्ध विस्तार एवं दुई देशबीचको आपसी हित र चासोका विषयमा छलफल भएको बताउनुभयो ।
त्यसैगरी भेटवार्ताका क्रममा दुई पार्टीका नेताहरुबीच गहिरो अन्तरक्रिया भएको भाजपाका उपाध्यक्ष विजयान्त पाण्डाले सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ । प्रतिनिधिमण्डलले आजै भाजपाको महिला मोर्चा, युवा मोर्चालगायत जनवर्गीय सङ्गठनसँग पनि अन्तरक्रिया गरेको थियो ।
सो क्रममा राष्ट्रिय प्रजातान्त्रिक गठबन्धन (एनडिए) सरकारले विगत नौ वर्षमा सफल रुपमा कार्यान्वयन गरेको नीति तथा योजनाका बारेमा छलफल भएका थियो । भेटमा भाजपाका नेताहरुले पार्टीको संस्थागत संरचना र निर्णय प्रक्रियाका बारेमा अनुभव आदानप्रदान गर्नुभएको थियो । भेटमा भाजपाका विदेश मामिला प्रमुखलगायत नेताको सहभागिता थियो ।