मञ्जु नेपाली,
चितवन । चितवनको भरतपुर अस्पतालमा सिटी स्क्यान सेवा बन्द भएको छ । अस्पतालले एक सूचना जारी गर्दै मेसिनको सफ्टवेयर र हार्डवेयरमा समस्या भएकै कारण केही दिन सम्मका लागि उक्त सेवा बन्द हुने जनाएको हो ।
सिटी स्क्यान मेसिन उपलब्ध गराउने हस्पिटेक इन्टरप्राइजेज प्रालिसँग मेसिनको बार्षिक मर्मत तथा विस्तृत मर्मतको सम्झौता अवधि ९४ साउनसम्म थियो l तर सकिएको चार दिनपछि मेसिन बिग्रियो । यसैले पनि समस्या भयो । मेसिनको ग्राफिक्स कार्डमा नै समस्या देखिएले अस्पतालका बायोमेडिकल इन्जिनियर तुलसी खनालले जानकारी दिनुभयो ।
मेसिन सप्लाइ गर्ने कम्पनीले सिंगापुरबाट सामान मगाउनुपर्ने उहाँको भनाई छ। कहिले सामान आउँछ एकिन नभएकै कारण सेवामा समस्या हुने खनालले भन्छन् । भरतपुर अस्पतालले बार्षिक ५० लाख रुपैयाँ रकम भुक्तानी दिने गरी बार्षिक मर्मतका लागि हस्पिटेकसँग आर्थिक बर्ष २०७७र०७८ देखि सम्झौता गर्दै आएको हो ।
तर, अस्पतालले आर्थिक बर्ष २०७८/०७९ र २०७९/०८० मा गरेर दुईपटक सम्झौता नवीकरण गरेको थियो । यसरि सधैं म्याद थप गर्नुभन्दा नयाँ टेण्डरमा जानु उपयुक्त हुने सुझाव आएकाले सम्झौता नवीकरण नगरेको अस्पतालको भनाइ छ ।अस्पतालको सिटी स्क्यान मेसिनबाट दैनिक ४०/५० जना बिरामीले सेवा लिँदै आएका थिए ।
२०७४ जेठमा ६ करोड ४७ लाख रुपैयाँ खर्चिएर खरिद गरिएको सिटी स्क्यान मेसिन वारेन्टी समय सकिएको र उक्त मेसिन पाँच महिनामै बिग्रिएको हो । मेसिनमा पटकपटक समस्या आएपछि अस्पतालले सिटीस्क्यान सप्लाई गर्ने कम्पनीलाई नै बर्षको ५० लाख दिने गरेर मर्मत सम्भारसम्बन्धी सम्झौता गरेको थियो । सिटी स्क्यान मेसिनका नाममा अस्पताललाई बर्षोसम्म कम्पनीले ‘दुहुनो गाई’ बनाएको भन्दै अस्पताल भित्रै आलोचनासमेत हुने गरेको छ ।
अस्पतालमा सिटी स्क्यान गरेको रकम तीन हजारदेखि ९ हजारसम्म तिर्नुपर्छ, अन्य निजीमा ४ हजारदेखि १३ हजारसम्म तिर्नुपर्छ । यसअघि भरतपुर अस्पतालमा सिटीस्क्यान गर्दै आएका बिरामी अब निजी अस्पताल र प्रयोगशालामा जानुपर्ने बाध्य भएको छ ।भने अस्पतालमा सेवा दिन नसकिने भएकाले हाल मेसिन नबन्ने भएको खनालले बताउँछन् ।