कोशीमा अर्को सरकार गठन गर्न सर्वोच्चद्वारा परमादेश जारी

काठमाडौं । कोशी प्रदेशको मुख्यमन्त्रीमा उद्धव थापा पद मुक्त हुनुभएको छ । सर्वोच्च अदालतले थापाको मुख्यमन्त्री नियुक्ति बदर गरिदिएको छ ।  थापाको मुख्यमन्त्री नियुक्तिविरुद्ध परेको रिटमा सर्वोच्चले  बिहीबार बदरको फैसला गरेको हो । 

सर्वोच्चका न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको इजलासले सभामुखको समर्थनमा भएको थापाको नियुक्ति बदर गर्दै थापा पदमुक्त हुने आदेश दिएको हो ।

कांग्रेस संसदीय दलका नेता थापाले असार २९ गते सभामुख बाबुराम गौतमको समेत समर्थनमा मुख्यमन्त्री बन्नुभएको थियो । सभामुखको समर्थनबारे विवाद भइरहेकै बेला प्रदेश प्रमुख परशुराम खापुङले थापालाई मुख्यमन्त्री नियुक्त गर्नुभएको थियो । 

त्यसपछि नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले तटस्थ भूमिकामा रहेका सभामुखको समर्थनबाट सरकार बन्नु गैरकानूनी भन्दै सर्वोच्चमा रिट दायर गर्नुभएको हो । 

कार्कीले थापाको नियुक्ति बदर गरी संविधानको धारा १६८ (३)  अनुसार प्रदेशसभाको ठूलो दलको संसदीय दलको नेताको हैसियतमा आफूलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश माग समेत गर्नुभएको थियो । 

सर्वोच्चले सरकार गठन हुनुपर्ने कारण देखाएर सभामुखले कसैलाई समर्थन गर्न नमिल्ने फैसला गरेको छ । सभामुखको त्यस प्रकारको अधिकार नरहेको भन्दै सभामुखको समर्थन संविधानसम्मत नभएको फैसलामा उल्लेख छ ।  सर्वोच्चले एमाले नेता कार्कीाँलाई मुख्यमन्त्री नियुक्तिको परमादेश भने दिन अस्वीकार गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us