काठमाडौं । नेपाल पुलिस क्लवले जारी एन्फा यु–१६ युथ फुटबल लिगमा विभागीय टोली प्रतिद्वन्द्वी त्रिभुवन आर्मी क्लवमाथि ६–१ को रबाफिलो जित निकालेको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा ललितपुरस्थित च्यासल स्टेडियममा शनिबार पुलिसले विभागीय डर्बीमा रबाफिलो जित आत्मसाथ गरेको हो ।
पुलिसको जितमा सुवास बम र नविन ओलीले दुई गोल तथा निश्चिल मगर र लक्ष्मण थामीले समान एक गोल गरे । खेलको १८ औं मिनेटमा नै नवीनले गोल गर्दै पुलिसलाई अग्रता दिलाए । तर, ३४औं मिनेटमा अनुभव पुरीले गोल फर्काउँदै आर्मीलाई खेलमा फर्काए । तर, दोस्रो हाफमा भने पुलिसले गोलको वर्षा गर्दै पाँच गोल गर्यो ।
५२ औं मिनेटमा लक्ष्मण थामीले गोल गर्दै अग्रता दोब्बर पारे । त्यसको दुई मिनेटमा नै नवीन ओलीले पुलिसको तेस्रो गोल थपे । अन्तिम १० मिनेटमा पुलिसले तीन गोल थपेपछि रबाफिलो जित निकाल्यो । सुवासले ८१औं मिनेट र ९०औं मिनेटमा गोल गरेका थिए । खेलको इन्जुरी समयमा निश्चिल मगरले गोल थप्दा पुलिस विभागीय टोलीमाथि पूर्ण हाबी भयो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शनिवार भएको अर्को खेलमा संकटा क्लवले पनि एफसी खुमलटारमाथि ५–१ को फराकिलो जित निकाल्यो । शनिवार भएको तेस्रो खेलमा एपिएफ र चर्च ब्वाइज क्लबले १–१ को बराबरीमा खेले । एपिएफले अग्रता जोगाउन नसक्दा चर्च ब्वाइजले एक अंक प्राप्त गरेको हो ।