आजदेखि सीआईबीले सुन तस्करी प्रकरणमा अनुसन्धान गर्ने

काठमाडौं । बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुन तस्करी प्रकरणमा अनुसन्धान गर्ने जिम्मा सिआइबीलाई दिन निर्देशन दिनुभएको थियो। उहाँको निर्देशन लगत्तै आवश्यक प्रक्रिया पुर्याएर थप अनुसन्धानको जिम्मा सिआइबीलाई हस्तान्तरण गरिएको हो । उक्त प्रकरणमा अब सिआइबीले आर्थिकलगायत सङ्गठित र अन्तरदेशीय अपराधको सन्दर्भमा पनि अनुसन्धान थाल्नेछ । पक्राउ परेका १७ जना आरोपीहरूलाई राजस्व अनुसन्धान विभागबाट प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को हिरासतमा ल्याइएको छ।

राजस्व अनुसन्धान विभागबाट थप मिसिल अध्ययन र अनुसन्धान गर्न भन्दै पत्र आएसँगै सबै अनुसन्धानको मिसिल र आरोपीहरूलाई पनि सिआइबीमा ल्याइएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले बताउनुभयो।

“आइतबार साँझ आरोपीसहित मिसिलहरू आइपुगेको छ, अब सोमबार अनुसन्धान अधिकृत तोकेर मिसिलको अध्ययन तथा थप अनुसन्धान अघि बढ्छ”, उहाँले भन्नुभयो।

अहिलेसम्म उक्त घटनामा संलग्न रहेको आरोपमा १८ जना पक्राउ परेकामा बिरामीका कारण एक जनालाई तारिखमा छाडिए पनि १७ जना हिरासतमा छन् । विभागका महानिर्देशक नवराज ढुङ्गानाले विभागबाट एक चरणको अनुसन्धान सकिएको र अब बाँकी अनुसन्धानका लागि सिआइबीलाई जिम्मा दिइएको बताउनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us