काठमाडौं । सत्तारुढ र प्रमुख विपक्षी दलले संसदीय समिति सभापतिको भागबण्डा टुंग्याएका छन् । सत्तारुढ र प्रमुख विपक्षी दल प्रमुख सचेतकहरुको सोमबारको बैठकले संसदीय समितिको भागबण्डा छिनोफानो गरेका हुन् ।
प्रमुख सचेतकहरुले टुंग्याएको भागबण्डालाई आजै बस्ने शीर्ष नेताहरुको बैठकले अन्तिम रुप दिने भएको छ । राजनीतिमा पछिल्लो समय चर्चामा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भने संसदीय समितिको सभापति नपाउने भएका छन् ।
प्रमुख सचेतक हितराज पाण्डेले संसदीय समिति सभापतिमा सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी नेकपा एमालेबीच भएको सहमतिबारे जानकारी दिनुभएको छ प्रमुख सचेतक पाण्डेका अनुसार संसदको ठूलो दल नेपाली कांग्रेसलाई ४ समितिको सभापति दिने सहमति भएको छ । प्रमुख प्रतिपक्षी एमालेले ३ सभापति पाउने भएको छ । सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रले २ सभापति लिने तथा जनता समाजवादी पार्टी, एकीकृत समाजवादी र जनमत पार्टीलाई एकएक समितिको सभापति दिने सहमति भएको छ ।