काठमाडाैं । प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिमा सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणामाथिको महाअभियोग प्रक्रिया अगाडि बढाउनेबारे छलफल भएको छ । नेकपा एमाले अनुपस्थित रहेको कार्यव्यवस्था परामर्श समिति बैठकमा सभामुख अग्नि सापकोटाले सिफारिस समिति गठनको प्रस्ताव पेस गरे ।
प्रतिनिधि सभाको बैठक अघि नयाँ बानेश्वरमा बसेको बैठकमा महाअभियोग अघि बढाउन समिति गठन गर्ने र त्यसका लागि राजनीतिक दलबाट समिति सदस्यको नाम माग्ने निर्णय भएको छ । दलहरुले समिति गठनका लागि आफ्नो दलका सांसदको नाम दिन थालेको बताइएको छ । जबराविरुद्ध सत्ता गठबन्धनले ल्याएको महाअभियोग प्रस्ताव पेस गर्ने आधार र कारण विद्यमान भए–नभएको छानबिन गरी सिफारिस गर्ने प्रयोजनका लागि महाअभियोग सिफारिस समिति गठन हुने भएको भएको हो ।
संविधानको धारा १०१ अनुसार प्रतिनिधिसभाका ११ जना सदस्य रहेको सिफारिस समिति गठन हुने बताइएको छ । समितिमा दलीय आकारअनुसार तोकिएका सदस्य सम्बन्धित संसदीय दलले नाम दिएपछि समिति गठन हुनेछ । महाअभियोग सिफारिस समितिमा प्रधानन्यायाधीशविरुद्धको उजुरीका आधारमा छलफलपछि महाअभियोग लगाउन उपयुक्त ठहर भएमा प्रतिनिधिसभामा पेस हुने संवैधानिक व्यवस्था छ ।
प्रमुख प्रतिपक्षी दल एमाले भने आजको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सहभागी थिएन । एमालेले आफ्नो दलबाट समिति गठनका लागि सदस्यको नाम दिन्छ वा दिँदैन् ? हेर्न बाँकी छ । एमालेले सभामुखले बोलाएको कुनै पनि बैठकमा नजाने बताउँदै आएको छ ।
गत फागुन १ गते राणामाथि महाभियोग दर्ता भएको थियो । आजको बैठकमा प्रतिनिधि सभाको शून्य समय र विशेष समय चलाउने, अघि बढ्न बाँकी रहेका विधेयकहरुलाई कसरी अगाडि बढाउने भन्नेबारेमा छलफल भएको थियो ।