कपिलवस्तु । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले जनताले विश्वास गरेर पठाएको पार्टीका नेताले काम नगरेकाले अब पाँच दलीय गठबन्धनलाई विश्वास गर्न थालेको बताउनुभएको छ ।
कपिलवस्तुको शिवराज नगरपालिकास्थित चन्द्रौटामा पार्टी प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न आएका नेपालले एमाले पार्टी र यसका नेताप्रति लक्षित गर्दै ‘गफाडीका गफ र हावादारी कुरा’ जनताले विश्वास गर्न छाडिसकेको बताउनुभएको हो ।
ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता आफूले सय रुपैयाँ दिएर सुरु गरेको उहाँको दाबी थियो । ‘अब ५ हजार दिन्छौं,’ उहाँले भन्नुभयो, ‘भत्ता दिने कुरा अरू नक्कलीले आएर हामीले दिन सुरु गरेका थियौं भन्लान् । विश्वास नगर्नु होला ।’ ०६४ सालको संविधानसभा निर्वाचनमा कपिलवस्तु– ५ बाट तराई मधेस लोकतान्त्रिक पार्टीबाट उम्मेदवार बनेका डा मन्जुर खाँल गायतलाई पार्टी प्रवेश गराउन नेता नेपाल यहाँ आउनुभएको थियो ।
‘जनताले दुई तिहाइ दिएर राम्रा काम गर्न पठाएका थिए,’ उहाँले भने, ‘तर, पार्टीका नेताले जनताको मताधिकार कुण्ठित र संसद्को अपमान गरे । त्यसैले अहिले सूर्यमा ग्रहण लागेको छ । कलम चिह्न उदाइरहेको छ ।’ आउँदो स्थानीय तह निर्वाचनमा पाँच दल गठबन्धन गरेर अघि बढ्ने र जसको जहाँ बढी प्रभाव छ, त्यसैलाई साझा उम्मेदवार बनाइने उहाँले बताउनुभयो ।