भ्यु टावर !

मदन कट्टेल

गरिबी मुक्तिको एउटै उपाय
भ्यु टावरबाट प्रभुको दर्शन

देश होच्याउने , इमान ढाँट्ने , यी टावरहरु
जहाँ रगतका फाल्सा देखिन्छ्न्,
गरिबका करङ्ग जस्ता झ्यालका डन्डीतिर ।

युवाको सपना र चेलीको अस्मिता गन्हाउँछ
लाचार आमा, दिदीबैनीका औंला छाप भेटिन्छन्
बाथरुममा टल्केको विदेशी कम्बोट

स्कुल र अस्पताल बन्धकी राखेर  बली चढाएको 
बोकाको गर्धन र रक्सीको  बोतल देखिन्छ 
देश होच्याउने यी भ्युटावरतिर,

स्केच , कार , र भव्य दरवार देखिन्छ
ठेक्केदारको भरभराउँदो अनुहारतिर

जे खोज्यो त्यही भेटिन्छ,
देश होच्याउने इज्जत गुमाउने कर्मका प्रतीक
महान दर्सनका बहुलठ्ठी भ्युटावर तिर

खेत मासेर , भन्सारमा चामलको गाडी चियाउने
रेमिट्यान्स मासेर परदेशीको लास घिस्याँउने
यी भ्युटावरहरु वैभव हुन् कि ?
दरिद्र बुद्धिको प्रहसन ?

कुनै दिन सरकारबाट उर्दी आउन बेर छैन
जसले भ्युटावरबाट देश हेरेको प्रमाणपत्र ल्याउँछ
उसलाई ठाउँको ठाउँ वैदेशिक रोजगारको भिसा

भ्युटावर चढ्नोस पाप मुक्त हुनुहोस्
गरिबी मुक्ति को एउटै उपाय
भ्यु टावरबाट प्रभुको दर्शन !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us