पोखरा । गण्डकी प्रदेश सरकारका युवा तथा खेलकुदमन्त्री दीपक मनाङेले आफ्नै कर्मचारीमाथि कुटपिट गरेका छन् ।
उनले मन्त्रालयका सूचना अधिकारीसमेत रहेका शाखा अधिकृत प्रकाश ओझामाथि हातपात गरेको मन्त्रालय स्रोतले बताएको छ । फाइल लिएर मन्त्रीको कार्यकक्षमा पुगेका ओझालाई मन्त्री मनाङेले हातपात गरेका हुन् ।
ओझले मन्त्री मनाङेले आफूमाथि हातपात र दुर्व्यवहार गरेकाले मंगलबारदेखि नै बिदा बस्ने जानकारी गराएको सचिव अधिकारीले जानकारी दिनुभयो । ओझाले कुटपिटबारे मन्त्रालयका सचिव बद्री अधिकारी र मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई घटनालगत्तै जानकारी गराएका थिए ।
आफू हिजोदेखि नै सुरक्षासम्बन्धी बैठकमा बागलुङमा रहेको र ओझाले मंगलबार नै घटनाबारे जानकारी गराएको भए पनि सम्पूर्ण सत्थतथ्य बुझ्न बाँकी रहेको सचिव अधिकारीले बताउनुभयो ।