काठमाडौ। गाँजा खेतीको अनुमति दिन गृह मन्त्रालयले प्रस्ताव बनाएर अर्थ मन्त्रालय पठाइसकेको छ।लागुऔषध नियन्त्रणको जिम्मेवारी बोकेको गृह मन्त्रालयले नै नेपालमा गाँजा खुला गर्न प्रक्रिया अगाडि बढाएको हो।
नेपालमा २०३३ सालमा लागु औषध नियन्त्रण सम्बन्धी ऐन नै बनाएर गाँजा उत्पादन र सेवनमा प्रतिबन्ध लगाइएको थियो। पछिल्लो समय भने केही सांसद र गाँजा खुल्ला गर्ने पक्षका अभियन्ताहरूले व्यावसायिक उत्पादन खुल्ला गर्न माग गर्दै आएका छन्।
मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्रालयका उपसचिव गोकर्ण प्रसाद उपाध्यायले गाँजाजन्य पर्दाथ सम्बन्धी अन्तराष्ट्रिय सन्धि सम्झौता र राष्ट्रिय कानुन बमोजिम औषधी प्रयोजनका लागि खुला गर्ने प्रक्रिया अगाडि बढेको जानकारी दिनुभयो।
वहाँका अनुसार नेपाल स्वास्थ्य अनुसन्धान परिषद् तथा अन्य स्वायत्त सरकारी अनुसन्धान संस्थाको सहकार्यमा वैज्ञानिक अनुसन्धान गर्न गाँजा खेती खुल्ला गर्न प्रस्ताव नै लगिएको हो। विभिन्न अन्तर्राष्ट्रिय अनुसन्धानले पनि गाँजा औषधीको रूपमा प्रयोग हुने भन्ने पाइएकाले केही देशमा खुला भएकाले हामीले पनि औषधीको लागि खुला गर्न प्रक्रिया सुरु गरेका हौँ,’ वहाँले भन्नुभयो।
वहाँका अनुसार अहिले यो प्रस्ताव अर्थ मन्त्रालय पुग्ने र प्रक्रिया हुँदै विधेयकमार्फत गाँजा खुला गर्ने तयारी भइरहेको छ। व्यावसायिक रूपमा गाँजा खेती गर्ने भएपछि राजश्व उठाउनु पर्ने भएकाले अर्थ मन्त्रालयमा स्वीकृतिका लागि पठाइने गृह मन्त्रालयका सहसचिव फणीन्द्र पोखरेलले जानकारी दिनुभयो।