काठमाडौं- आइसिसी टि-२० विश्वकप एशिया क्षेत्रको फाइनल छनोटअन्तर्गत बिहीबार भएको खेलमा नेपाल ओमानसँग पराजित भएको छ। समूह विजेता बन्ने लक्ष्यसहित बिहीबार मैदान उत्रिएको नेपालले ओमानले दिएको १४६ रनको लक्ष्य भेट्टाउन सकेन ।
उता मूलपानीमा भएको समूह बीको खेलमा भने युएईले हङकङ २२ रनले हरायो । जितसँगै युएई समूह विजेता बनेकाले भोलि नेपालसँग फाइलनका लागि खेल्ने निश्चित गरेको हो ।
१७७ रनको लक्ष्य पछ्याएको हङकङ ८ विकेट गुमाएर १५४ रनमा समेटियो ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको खेलमा नेपाल ओमानसँग पाँच रनले पराजित भएको हो। यस जितसँगै ओमान समूह ए को विजेता तथा नेपाल उपविजेता बन्यो।

ओमानले दिएको १४६ रनको चुनौती पछ्याएको नेपाल निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै एक सय ४० रनमा समेटियो।
नेपालका विवेक यादवले २४ बलमा ५ छक्कासहित सर्वाधिक ३९ रन बनाए। त्यस्तै, कुशल भुर्तेलले २६ रन बनाए भने करण केसीले १५ रन जोडे।
नेपालले सुरुआतदेखि नै लगातार विकेट गुमाएको थियो। आसिफ शेखले पाँच रन जोड्दै आउट भए भने सोमपाल कामी, कप्तान रोहितकुमार पौडेल र सन्दीप जोराले समान १२/१२ रन जोड्दै आउट भए। त्यस्तै गुलशन झाले ३ रन जोडे।
ओमानका विलाल खानले तीन किकेट झारे भने अकिब इलयास, सकिल अहमद र मेहरान खानले समान दुई/दुई विकेट लिए। त्यस्तै कप्तान जिशान मकसुदले एक विकेट लिए।
त्यसअघि टस हारेर पहिले व्याटिङ गरेको ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउदै एक सय ४५ रनको योगफल बनाएको थियो। ओमानका लागि जिशान मकसुदले सर्वाधिक ३२ रनको योगदान दिए। उनले २६ बलमा १ चौका र ३ छक्कासहित ३२ रन बनाएका हुन्।
त्यस्तै, नसिम खुसीले २५ रन बनाए भने प्रतीक अथभलले २४,सकिल अहमदले २२ तथा आयान खानले १८ रन बनाए।
नेपालका लागि करण केसीले तीन विकेट लिए भने सोमपाल कामी र सन्दीप लामिछानेले समान दुई/दुई विकेट लिए।
त्यस्तै, गुलशन झा र अभिनाश बोहोराले समान एक/एक विकेट लिए। नेपालले भोलि हुने सेमिफाइनल खेलमा समूह बी को विजेता युएईसँग खेल्नेछ।

यस अघि आइसिसी टि-२० विश्वकप एसिया क्षेत्रको फाइनल छनोटअन्तर्गतको खेलमा ओमानले नेपाललाई १४६ रनकाे लक्ष्य दिएकाे थियाे।
बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४५ रन बनाएकाे हाे।
नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।
ओमानका कप्तान जिसान मक्सुदले ३२ रन बनाउँदा नसिम खुशीले २५, प्रतिक अथावालेले २४, अयान खानले १८ र साकिल अहमेदले २२ रन बनाए।
नेपालका लागि करण केसीले तीन विकेट लिँदा सन्दीप लामिछाने र सोमपाल कामीले दुई-दुई विकेट लिए। यसैगरी अभिनाश बोहरा र गुल्सन झाले एक-एक विकेट झारे ।
समूह चरणका यसअघिका दुवै खेलमा दुवै टोलीले अपराजित रहँदै समान चार अंक जोडेका छन्। ओमान नेटरनरेटका आधारमा समूह ‘ए’ को शीर्षस्थानमा छ भने नेपाल दोस्रो स्थानमा रहेको छ।
प्रतियोगितामा दुवै टोली एक खेलअगावै सेमिफाइनलमा प्रवेश गरिसकेका छन्। आजको खेलबाट समूह ‘ए’ को विजेता र उपविजेताको टुंगाे लाग्नेछ।
नेपालले आजको खेलमा पनि अघिल्लो खेलकै खेलाडीलाई निरन्तरता दिएको छ।
नेपाली टोलीमा कप्तान पौडेलसहित आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, गुलशन झा, सन्दीप लामिछाने र अभिनाश बोहरा छन्।