कात्तिक २१, २०८० १२:४९काठमाडौं । अन्ततः नेपालमा मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) कार्यान्वयनमा आएको छ । नियामक नेपाल दूरसञ्चार प्राधिकरणले दर्ता नभएका आईफोन १५ सिरिजका फोन लक गर्दै एमडीएमएस लागू गरेको हो ।
प्राधिकरणका अनुसार एमडीएमएसमा दर्ता नभएका ८०४ ओटा आईफोन १५ सिरिजका फोनमा सोमबार राति ९ बजेदेखि दूरसञ्चार सेवा बन्द भएको छ ।
आईफोन १५ सिरिज अन्तर्गत करिब एक हजार डिभाइसमा एमडीएमएसमा दर्ता हुन १५ दिनअघि एसएमएस पठाइएको थियो । त्यसमध्ये ८०४ डिभाइस ताेकिएकाे समयभित्र दर्ता नभएकाले बन्द गरिएको प्राधिकरणले जनाएको छ ।
यी फोनमा दूरसञ्चार सेवा अर्थात् नेपाल टेलिकम वा एनसेलको सिम सपोर्ट हुनेछैन । यद्यपि प्रयोगकर्ताले वाई-फाई सेवा भने चलाउन सक्नेछन् ।
प्राधिकरणले अर्को चरणमा एमडीएमएसमा दर्ता नभएका अन्य हाई इन्ड तथा महँगा फोनहरूमा यो प्रणाली लागू हुने जानकारी दिएको छ ।
यसअन्तर्गत प्राधिकरणले एमडीएमएसमा दर्ता नगरी प्रयोगमा आएका फोनमा १५ दिनको म्याद राखी तोकिएको दस्तुरसहित दर्ता गर्न एसएमएसमार्फत आग्रह गर्नेछ । सो अवधिमा दर्ता नहुने डिभाइस नियामनुसार ब्लक हुनेछन् ।
दर्ता गर्नका लागि एक लाख रुपैयाँभन्दा बढी मूल्यका लागि प्रति फोनसेट १० हजार रुपैयाँ राजस्व कायम गरिएको छ । त्यस्तै अन्य स्मार्टफोनका लागि प्रति फोनसेट तीन हजार रुपैयाँ र स्मार्ट मोबाइल फोनसेट बाहेकका अन्य साधारण मोबाइलका लागि प्रति सेट २०० रुपैयाँ राजस्व भुक्तानी गरी एमडीएमएस प्रणालीमा दर्ता गर्न सकिनेछ ।
ब्लक भएका फोनका लागि एमडीएमएसमा दर्ता गर्ने अर्काे प्रक्रिया नभएकाले नेपालमा यी डिभाइस नचल्ने प्राधिकरणले जनाएकाे छ ।
तपाईंको मोबाइल एमडीएमएसमा दर्ता छ कि छैन, यदि छैन भने दर्ता गर्न यहाँ क्लिक गर्नुहोस् ।
https://mdms.nta.gov.np/individual-registration/validateImei
आफ्नो मोबाईलको IMEI MDMS मा दर्ता भए/नभएको हेर्नुहोस
नया मोबाईल खरिद गर्नुअघि MDMS मा दर्ता भए/नभएको हेर्नुहोस
https://mdms.nta.gov.np/public
IMEI भनेको के हो?
SIM प्रयोग हुने उपकरणमा १५ अंकको IMEI नम्बर हुन्छ | त्यस्तो उपकरणहरुको IMEI एक अर्कासंग मेल खाँदैन | IMEI नम्बर उक्त्त उपकरणको परिचय प्रदान गर्ने गुण हो |
आफ्नो IMEI कसरि पत्ता लगाउने ?
आफ्नो मोबाईलको Keypad मा गई *#०६# Dial गरे पछी उक्त उपकरणको IMEI नम्बर पत्ता लगाउन सकिन्छ |
MDMS प्रणाली भनेको के हो?
नेपाल दूरसंचार प्राधिकरणले मोबाईलको आयात तथा प्रयोगलाई व्यवस्थापन गर्न MDMS प्रणाली लागु गरेको छ | अवैध रुपमा राज्यमा भित्रिने मोबाईलहरुलाई प्रतिबन्ध गर्न र सर्वसाधारणको मोबाईल तथा SIM को अनधिकृत प्रयोगलाई कानुनी दायरामा ल्याउन MDMS को भूमिका रहन्छ |
MDMS ले सर्व साधारणलाई के फाईदा पुर्याउंदछ ?
हराएका तथा चोरी भएका मोबाईलहरुको खोजि कार्यमा सहयोग गर्छ | साथै त्यस्ता मोबाईलको अनधिकृत प्रयोगलाई रोक्ने कार्य समेत गर्दछ |
प्राधिकरणमा दर्ता नभएका मोबाईल किन-बेच तथा बिक्रि-वितरण गर्नु हुन्छ ?
हुँदैन | यो गैर कानुनी हो | मोबाईल किन्नु अगाडी उक्त मोबाईल प्राधिकरणमा दर्ता भए नभएको एकिन गरेर मात्र किन्नु पर्दछ |