बिबिसीले सार्वजनिक गरेको सन् २०२३ का विश्वका प्रभावशाली १०० महिलाको सूचीमा नेपालकी रुक्सना कपाली पनि परेकी छन्।

सोमबार सार्वजनिक भएको उक्त सूचीमा ‘पारलिंगी महिला’ (ट्रान्सजेन्डर वुमन) कपाली पनि परेकी हुन्।
यौनिक तथा लैंगिक अल्पसंख्यक अभियन्ताका रूपमा कार्यरत कपालीले लैंगिक तथा यौनिकताका विविध आयामबारे आफैं सिक्दै गएको बिबिसीले जनाएको छ।
उनले हुर्कंदै गर्दा आफ्नो पहिचानका बारेमा कसैबाट पनि जानकारी नपाएको बिबिसीको परिचयमा उल्लेख छ। एलएलबी तेस्रो वर्षमा अध्ययनरत रुक्सना नेपालका एलजिबिटिक्यू प्लस समुदायलाई कानुनी र संवैधानिक अधिकार दिलाउन संघर्षरत रहेकी छन्।
उनी हाउजिङ क्याम्पेनरअन्तर्गत १०० प्रभावशाली महिलाको सूचीमा परेको पनि बिबिसीले जनाएको छ।
यस वर्ष जलवायु अभियन्ता, संस्कृति तथा शिक्षा, मनोरञ्जन र खेलकुद, राजनीति र वकालत तथा विज्ञान, स्वास्थ्य र प्रविधि विधामार्फत प्रभावशाली १०० महिला छानिएको पनि बिबिसीले उल्लेख गरेको छ।
यस वर्ष बिबिसीको सूचीमा पूर्व अमेरिकी प्रथम महिलासमेत रहेकी लेखक तथा वकिल मिसेल ओबामा, मानव अधिकारको वकालत गर्दै आएकी अमाल क्लूनी, बालेन डी’ओर विजेता फुटबलर, एइताना बोनमाटी, एआई विज्ञ टिमनिट गेब्रु, हलिउड स्टार अमेरिका फेरेरा र बलिउड अभिनेत्री दिया मिर्जालगायत रहेका छन्।
यस वर्षको सूचीमा जलवायु परिवर्तनसँग सम्बन्धित क्षेत्रमा लागिरहेका २८ जना महिला पनि रहेका छन्।
यसअघि बीबीसीले सन् २०२० मा प्रभावशाली महिलाको सूचीमा नेपालकी सपना रोका मगरलाई समावेश गरेको थियो। सपनाले बेवारिसे शवहरूको व्यवस्थापन गर्दै आएकी छन्।
