काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लुम्बिनी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका तत्कालीन प्रदेश सचिव वैकुण्ठ अधिकारीसमेत चार जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
उनीहरु विरुद्ध एक करोड ३१ लाख ६० हजार रुपैयाँ बराबरको बिगो र कैद सजायको माग गर्दै मुद्दा दायर गरिएको आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिनुभयो ।
आर्थिक वर्ष २०७५÷७६ मा सो मन्त्रालयले विभिन्न कृषि समूह र सहकारी मार्फत् किसानलाई कृषियन्त्र आपूर्ति गर्ने क्रममा प्रदेश सरकारलाई बदनियतपूर्वक नोक्सानी पु¥याइ भ्रष्टाचार गरेको आयोगको आरोप छ ।
सम्झौता विपरीत कम क्षमता र गुणस्तरको कृषि उपकरण वितरण गरेको पाइएको तथा सोही कार्यमा बदनियत देखिएकाले आयोगले अनुसन्धान गरेको थियो । उक्त काममा एक करोड ३१ लाख ६० हजार रुपैयाँ बराबरको भ्रष्टाचार भएको आयोगको ठहर छ ।
आयोगले तत्कालीन प्रदेश सचिव अधिकारी, कृषि व्यवस्था, कृषि सहकारी मन्त्रालयका महाशाखा प्रमुख श्रीधर ज्ञवाली, कृषि प्रसार अधिकृत मुकेश राम्जाली नेपाली र कृषियन्त्र आपूर्तिकर्ता आधुनिक कृषि किसान संसारका प्रबन्ध निर्देशक राजाराम तिवारी विरुद्ध बिगो, जरिवाना र कैद सजया माग गर्दै मुद्दा दायर गरेको छ ।