काठमाडौं । सत्तारुढ दल नेकपा एकीकृत समाजवादीले भूकम्प पीडितका लागि छुट्याएको राहत रकम सरकारलाई हस्तान्तरण गरेको छ ।
एकीकृत समाजवादीले जाजरकोट र पश्चिम रुकुम लगायतका क्षेत्रका भूकम्प पीडितको लागि २५ लाख रुपैयाँ सहयोग गरेको छ । राहत रकम पूर्वप्रधानमन्त्री तथा पार्टी अध्यक्ष माधवकुमार नेपालले मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई हस्तान्तरण गर्नुभएको छ ।
एकीकृत समाजवादीको सोमबार बसेको सचिवालयले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रकम जम्मा गर्ने निर्णय गरेको थियो । एकीकृत समाजवादीले पार्टीका संघीय सरकार र प्रदेश सरकारका मन्त्री, सांसद र जनप्रतिनिधि साथै राजनीतिक नियुक्ति पाएका व्यक्तिबाट १५ दिनको पारिश्रमिक जम्मा गर्ने निर्णय समेत गरेको छ ।
भूकम्प प्रभावित स्थानमा उद्धार, राहत र पुनःस्थापनाको काममा सहयोग, सहकार्य र अनुगमनका लागि एकीकृत समाजवादीले उपमहासचिव तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला संयोजक रहेको कार्यदल समेत बनाएको छ ।