साताको दुई दिन सार्वजनिक बिदा दिने अन्तिम तयारी

काठमाडौं । सरकारले साताको दुई दिन सार्वजनिक बिदा दिने अन्तिम तयारी गरेको छ ।  अर्थमन्त्रालयमा बसेको विज्ञ र सरोकारवालाहरुको बैठकले कम्तीमा तीन महिनाका लागि शनिबार र आइतबार बिदा दिन सरकारलाई प्रस्ताव गरेको हो । खासगरी इन्धन खपत घटाउने उद्देश्यसहित बैठकले आगामी तीन महिनाका लागि सरकारी र सार्वजनिक कार्यालयमा शनिबार र आइतबार बिदा दिने व्यवस्था मिलाउने निर्णय गरेको हो ।

अर्थ मन्त्रालयको बैठकले सरकारी निकायहरूको इन्धन खर्च २० प्रतिशतले घटाउने निर्णय गरेको छ । यता, नेपाल राष्ट्र बैंकले पनि इन्धन खपत ४० प्रतिशतले घटाउने निर्णय गरिसकेको छ । राष्ट्र बैंकको व्यवस्थापनले सबै तहका कर्मचारीमा लागू हुने गरी इन्धन खपत ४० प्रतिशतले घटाउने निर्णय गरेको एक उच्च अधिकारीले जानकारी दिए ।

यस विषयमा मन्त्रिपरिषद्ले निर्णय गर्ने र आगामी नयाँ वर्षदेखि लागू हुने अर्थ मन्त्रालय स्रोतले जानकारी दिएको छ । ती बिदाका दिनमा अत्यावश्यकबाहेकका सरकारी साधन नचलाउने निर्णय पनि बैठकले गरेको छ । बिदामा सरकारी सवारीसाधन चलाउन पास वितरण नगर्ने निर्णयसमेत भएको छ । 

एउटा सवारीसाधन दुईभन्दा बढीले प्रयोग गर्ने, कार्यक्रममा जाँदा सार्वजनिक सवारीसाधन प्रयोग गर्नेलगायत विधि प्रयोग गरेर इन्धन खपत घटाइने निर्णय भएको छ । यो निर्णय कार्यान्वयन सुरु भइसकेको बताइएको छ । 
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us