काठमाडाैं । नेपाल रेडक्रस सोसाइटीले नेपालमा रगतको संकलन एवं व्यवस्थापनका लागि सबैमा रगत दान गर्नुपर्ने जागरण चलाउन आवश्यक रहेको बताएको छ ।
नेपालमा रहेका रक्तसञ्चार सेवा केन्द्र र युवा पुस्तामा रगत दान गर्नुपर्ने सन्देश फैल्याउने अभियान सञ्चलन गर्नुपर्ने आवश्यकता रहेको बताएका हुन् । नेपालमा आवश्यक रगत व्यवस्थापनका लागि रगत दान गर्ने कुरालाई हरेक व्यक्ति र समाजमा अभियानका रुपमा लैजान सके यसले आवश्यक समयमा रगतको कमी नहुने नेपाल रेडक्रस सोसाइटीका कार्यवाहक महामन्त्री मनोजकुमार थापाले बताउनुभयो ।
उहाँले रक्तदाताहरुलाई रगत दान गर्नुपर्छ भन्ने चेतना फैल्याउन आवश्यक रहेको बताउनुभयो । बजारमा अहिले रगतको अभाव भएको भ्रम फैल्याइएको बताउनु भयो । उहाँले कुनै एउटा समूहको रगत कमी भएको बेलामा रगत नै अभाव भयो भन्ने भ्रम फैल्याउने काम भएको बताउनुभयो । रक्तसञ्चार व्यवस्थापन समिति संयोजकसमेत रहनुभएका उहाँले चाडपर्वहरुमा रगत संकलनमा कमी आउने भएपनि अन्य समयमा खासै कमी नभएको बताउनुभयो । नेपालमा बसोवास गरिरहको मानिसमध्ये २ प्रतिशत मानिसले रगत दान गर्ने हो भने रगत अभाव नहुने जिकिर गर्नुभयो । उहाँले रगत पाइँदैन भन्नेकुराको अन्त्य गर्न सोसाइटीले विशेष कार्यक्रम अघि बढाउन लागेको पनि बताउनुभयो ।
त्यस्तै, नेपाल रेडक्रस सोसाइटी, समन्वय सेवा विभागका निर्देशक दिव्यराज पौडेलले देशभर पछिल्लो दुई वर्षमा दैनिक १२ सय युनिट रगतको माग हुने गरेको बताउनुभयो । उहाँले वार्षिक रुपमा रगतको माग गर्नेको संख्या साढे ४ लाख रहेको बताउनुभयो ।
काठमाडौं उपत्यकामा दैनिक ३५० युनिटको माग हुँदै आएको र वार्षिक रुपमा काठमाडौंमा १ लाख ३० हजार टनको आवश्यकता रहेको बताउनुभयो । उहाँले चाहिने रगत ८५ प्रतिशत क्याम्पहरुबाट आपूर्ति गर्ने गरेको र १५ प्रतिशत रक्तसञ्चार केन्द्रहरुमा नै आएर दान गर्नुपर्ने अवस्था रहेको बताउनुभयो ।
उहाँले देशमा चाहिने मात्राअनुसारको रक्तदाताको संख्यामा कमी रहेको बताउनुभयो । युवा र महिलाहरुलाई यसबारे सचेत बनाउनसके रक्तदाताहरु बढ्ने उहाँको भनाइ छ । नेपालमा लगभग २ प्रतिशत डोनरको आवश्यकता पर्ने भएपनि अहिलेसम्म ०.९ प्रतिशत मात्रै पुगेको बताउनु भयो । उहाँले सरकारले रगत व्यवस्थापनका लागि बजेट बढाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो।