कास्कीमा ५० हजार भन्दा बढि मतदाता थपिएका

कास्की। २०७४ को स्थानीय तहको चुनावमा भन्दा अब हुन लागेको चुनावमा कास्कीमा ५७ हजार २२ जना मतदाता थपिएका छन् । त्यसमध्ये पोखरा महानगरपालिकामा मात्रै ३९ हजार ६ सय ४५ जना मतदाता थपिएका छन् ।

पोखरा महानगरपालिकामा २०७४ को स्थानीय तहको चुनावमा १ लाख ६८ हजार ६७ जना मतदाता थिए भने अहिले २ लाख ७ हजार ७ सय १२ जना मतदाता पुगेको जिल्ला निर्वाचन कार्यालय कास्कीका सूचना अधिकृत रुद्र न्यौपानेले जानकारी दिनुभयो । पोखरामा थपिएका नयाँ मतदाता अहिलेको चुनावको निर्णायक हुने देखिएको छ ।

आफ्नो पक्षमा नतिजा ल्याउनको लागि नयाँ थपिएका मतदाता आफ्ना पक्षमा पार्न दलहरु लागेका छन् भने नेताहरु आफ्नो पक्षमा टिकट हात पार्ने दौडधुपमा लागेका छन् । सत्ता गठबन्धनले देशभरका ६ वटा महानगरपालिकामा केन्द्रबाटै टुङ्गो लगाउने तय भएको छ ।

दलहरुका निर्वाचन जितका लागि आआफ्ना दाबी भए पनि अहिले थपिएका मतदाता पोखराको नेतृत्व चुन्न निर्णायक हुन सक्ने देखिएको छ । अघिल्लो चुनावमा साना दल र स्वतन्त्र उम्मेदवारले प्राप्त गरेको मत पनि निर्णायक हुनसक्ने छ । मेयरमा एमाले र कांग्रेससहित साना दल र स्वतन्त्र गरेर १६ जना उम्मेदवार थिए । अघिल्लो स्थानीय तह चुनावमा एमाले र कांग्रेस बाहेकका उम्मेदवारले ६ हजार ७ सय ९ मत ल्याएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us