समतामूलक समाजका लागि महिलामाथि हुने सबै हिंसा अन्त्य हुनुपर्छ: प्रधानमन्त्री प्रचण्ड

काठमाडाैं । आज नोभेम्बर २५ अर्थात् महिला हिंसा निर्मूलसम्बन्धी अन्तर्राष्ट्रिय दिवस । संयुक्त राष्ट्रसङ्घको महासभाले महिला हिंसा निर्मूलसम्बन्धी अन्तर्राष्ट्रिय दिवस विश्वभर मनाउने निर्णय गरे बमोजिम आजदेखि डिसेम्बर १० सम्म विश्वभर सञ्चालन गरिने लैङ्गिक हिंसाविरूद्धको १६ दिने अभियान सुरु भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले लैङ्गिक हिंसा विरुद्धको १६ दिने यस अभियानको अवसरमा सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक शुभकामना व्यक्त गर्दै सबैको एकताबद्ध प्रयासका लागि सम्पूर्ण व्यक्ति, परिवार, समाज र सम्बन्धित निकायलाई संवेदनशील हुन आग्रह गर्नुभएको छ ।

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको सन्दर्भमा शुभकामना व्यक्त गर्दै उहाँले सङ्घीय संरचनाअनुसार तीनै तहका सरकारमा लैङ्गिक हिंसा विरूद्धका कानूनी तथा संस्थागत व्यवस्थालाई आन्तरिकीकरण र संस्थागत गरी संवेदनशील र महत्वका साथ अगाडि बढाउन यस अभियानको सन्दर्भमा सबैलाई आग्रह गर्नुभयो । समतामूलक समाज निर्माणका लागि महिलामाथि हुने सबै प्रकारका हिंसाहरुको अन्त्य हुनुपर्ने अवधारणा अनुरुप हरेक वर्ष नोभेम्बर २५ देखि  डिसेम्बर १० सम्म १६ दिने अभियान सञ्चालन हुँदै आएको अवगत नै छ ।

“लैङ्गिक हिंसा व्यक्ति या परिवारको मात्रै समस्या होइन, यो हामीले अभ्यास गर्ने राजनीतिक प्रणाली, सामाजिक संरचना र देशले अवलम्बन गर्ने नीतिहरुसँग अभिन्नरुपमा गाँसिएको छ, सबै क्षेत्रमा महिलाको राजनीतिक, सामाजिक र सांस्कृतिक सम्मानजनक उपस्थिति र सहभागिताको सुनिश्चित भएमात्रै हामीले महिलामाथि हुने सबै प्रकारका हिंसा अन्त्य गर्न सक्छौँ”, उहाँले भन्नुभएको छ ।

यही तथ्यलाई आत्मसात गरेर लामो संघर्षपछि समावेशी समानुपातिक राजनीतिक प्रणाली स्थापना गर्दै महिला अधिकारका सबै पक्षलाई संवैधानिकरुपमा नै ग्यारेण्टी गर्न हामी सफल भएको उल्लेख गर्दे अबको आवश्यकता महिला अधिकारलाई सुनिश्चित गर्न संविधानमा उल्लेख गरिएका मौलिक हकको व्यवहारिक कार्यान्वयन गर्नु रहेको बताउनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us