सोलुखुम्बु। सोलुखुम्बुको विभिन्न ठाउँ लालीगुराँस फुलेर ढकमक्क भएसँगै हेर्न र घुम्न आउने आन्तरिक पर्यटकको सङ्ख्या बढ्न थालेको छ ।
जिल्लाको पत्ताले, गौरीटाप, पिकेडाँडा, रात्नाङ्गी डाँडासहितका क्षेत्रहरु यतिखेर लालीगुराँस फुलेर राताम्मे देखिन्छ । फागुन अन्तिमबाट फुल्न सुरु भएको गुराँसका कारण सेल्फी लिनेहरुको भिड लागेको छ। विशेषत जिल्ला बाहिरका नागरिकहरुले गुराँसलाई बढी महत्त्वका साथ लिने गरेको गौरीटापका लौरेश्वर बाबाको भनाइ छ ।
उहाँले भन्नुभयो – हामीलाई पो गुराँसको महत्त्व छैन त, गुराँससँग रमाउन र तस्बिर खिच्नकै लागि ओखलढुङ्गा, काठमाण्डौ, भक्तपुर, ललितपुर, काभ्रे लगायतका जिल्लाबाट जीप र बस नै रिजर्भ गरेर पर्यटक यहाँ आउँछन् । प्रकृतिले दिएको यति राम्रो फूल यत्तिकै फुल्छ त्यत्तिकै औलाएर जान्छ । हामीले यसको प्रवर्द्धन गर्न सकेका छैनौँ।
अघिल्लो वर्ष कोरोनाका कारण ठप्प भएको पर्यटन व्यवसायमा यस वर्ष भने आन्तरिक पर्यटकका कारण राहत मिलेको पिकेडाँडाका होटल व्यवसायी गेलु शेर्पाले बताउनु भयो ।