काठमाडौं : आज डिसेम्बर १० अर्थात् विश्व मानव अधिकार दिवस । विश्व मानवअधिकार दिवसको अवसरमा नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरिँदैछ ।
नेपालमा मानवअधिकारका विषयमा संवैधानिक अधिकारको कुरामा बलियो अवस्थामा छ । तर त्यसको कार्यान्वयन र वास्तविक न्याय वा मानवअधिकारको अवस्थामा भने अझै सुधार आउन सकेको छैन ।
सन् १९४८ मा संयूक्त राष्ट्रसंघको महासभाले मानव अधिकार घोषणपत्र पारित गरेको एतिहासिक दिवसको सम्झनास्वरुप हरेक डिसेम्बर १० का दिन यो दिवस मनाइन्छ ।

मानव अधिकार विश्वव्यापी घोषणापत्र संयुक्त राष्ट्रसंघको साधारण सभाले प्रस्ताव नं. २१७ क (३) बाट अनुमोदन गरि जारी भएको हो । यसमा ३० धाराहरू रहेका छन् । घोषणापत्रमा सबै ब्यक्तिहरू जन्मजात स्वतन्त्र र प्रतिष्ठा तथा अधिकारमा समान हुने उल्लेख छ ।
७५ औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा आज एक विज्ञप्ति जारी गर्दै नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समाजमा विद्यमान सबै प्रकारका भेदभावका अन्त्य गरी मुलुकमा जनताको आर्थिक तथा सामाजिक रुपान्तरण कायम गर्नुपर्ने बताउनुभएको छ । मानवअधिकार नागरिकको संवैधानिक अधिकारका रूपमा रहेकाले यसको सुनिश्चितता गर्न जातीय, लैङ्गिक तथा वर्गीय विभेदको अन्त्य गरिनुपर्छ भन्नुभयो ।
सार्वजनिक निकाय तथा विभिन्न कार्यस्थलमा कुनै पनि नागरिक मानवअधिकारबाट बञ्चित हुन नहुनेमा जोड दिँदै राज्यको मूलप्रवाहमा समाहित हुन नसकेका अल्पसङ्ख्यक, सीमान्तकृतलगायत समुदायको सामाजिक न्याय, हकहितका विषय मानवअधिकारका रूपमा संरक्षण गर्न सबै तहका सरकार संवेदनशील हुनुपर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।
मुलुकमा विभिन्न समयमा भएको जनआन्दोलनबाट राजनीतिक क्रान्ति पूरा गरिएको जनाउँदै विज्ञप्तिमा सबै नागरिकलाई सामाजिक न्यायका साथै समानताका कानुनी अधिकार रहेकाले त्यसलाई सुरक्षित गर्ने दायित्व राज्यको भएको जनाइएको छ अध्यक्ष नेपालले मानवअधिकारको पूर्ण कार्यान्वयनबाट लोकतान्त्रिक शासन प्रणालीलाई मजबुत बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्दै विज्ञप्तिमा नागरिकको मौलिक हक कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।