काठमाडौं । भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएपछि नेपाली व्यापारीहरुले चीनबाट प्याज आयात गर्न थालेका छन् । भारतले गत मंसिर अन्तिम सातदेखि प्याज निर्यातमा प्रतिबन्ध लगाएको हो ।
९५ प्रतिशत प्याज भारतबाटै आइरहेकोमा प्रतिवन्धपछि बजारमा प्याजको अभाव भएको थियो । त्यस पछि नेपाली व्यापारीहरुले चीनबाट प्याज आयात गर्न थालेका हुन् ।
अहिले चीनको केरुङ हुदै प्याज आयात भईरहेको नेपाल कृषि उपज आलु प्याज आयात र निर्यात तथा थोक विक्रेता संघले जनाएको छ ।
चाइनाबाट प्याज आएपछि १ किलो प्याजको मूल्य ८० देखि ९० रुपयाँसम्म हुने उनले बताए। उनले भने,‘प्याज चाइनाबाट आउँछ मूल्य कम पनि हुन्छ। हामीलाई पनि व्यापार गर्न सहज हुन्छ र सबैको भान्सामा प्याज पुग्छ।
भारतको प्रतिबन्धपछि बजारमा प्याजको हाहाकार भएर मूल्य दोब्बर भएको थियो। यसअघि प्रतिकिलो १०० रुपैयाँ खुद्रामा पाइने प्याजको मूल्य बढेर २ सय रुपैयाँ पुगेको थियो।
अहिले कालिमाटी बजारमा प्याजको मूल्य औसत १४० रुपैयाँ थोकमा बिक्री भइरहेको बजार विकास समितिले जनाएको छ। उक्त प्याजको खुद्रा बजार मूल्य १७० रुपैयाँ पुगेको छ। संघका अनुसार पहिलो चरणमा एकसय टन प्याज आयात हुन लागेकोमा ३० टनको लागि भन्सार प्रकृया पुरा भइसकेको छ ।