सरकारले बालकुमारी घटनामा ज्यान गुमाएका व्यक्तिको परिवारलाई जनही १०/१० लाख रुपैयाँ दिने तयारी गरेको छ । आज बिहान बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृहमन्त्री नारायणकाजी श्रेष्ठसहित सुरक्षा अधिकारीहरूको बैठकमा पीडितलाई राहत दिने प्रस्ताव ल्याउन निर्देशन दिएका हुन् ।
उनीहरूलाई राहत घोषणा गर्न मन्त्रिपरिद् बैठक बस्दै छ । आजै २ बजे बस्ने बैठकले राहत घोषणा गर्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले लोकान्तरलाई जानकारी दिए ।
‘प्रधानमन्त्रीले गृह मन्त्रीसहितको टिमलाई आज बिहान छलफलका लागि बोलाउनुभएको थियो । बालकुमारी घटनामा ज्यान गुमाएमा दुई व्यक्तिको परिवारलाई १०/१० लाख रुपैयाँ दिने मन्त्रिपरिषद् बैठकमा प्रस्ताव ल्याउन निर्देशन दिनुभएको छ,’ आचार्यले भने, ‘प्रस्ताव आएपछि २ बजे बस्ने मन्त्रिपरिषद् बैठकले यसबारे निर्णय गर्छ ।
इपीएस भाषा परीक्षाको विषयलाई लिएर भएको प्रदर्शनमा शुक्रबार दुई जनाको ज्यान गएको थियो । उनीहरूले भौतिक पूर्वाधार तथा यातायातमन्त्री चढ्ने सरकारी गाडीमा आगजनीसमेत गरेका थिए ।
घटनाबारे प्रधानमन्त्री प्रचण्डले आज बिहान ब्रिफिङ लिएका थिए । ब्रिफिङमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, गृहसचिव दिनेश भट्टराई, नेपाल प्रहरी महानिरीक्षक वसन्त कुँवर, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखलगायत उपस्थित थिए ।