काठमाडौंमा नम्बरप्लेट पहिचान गर्ने स्मार्ट क्यामेरा जडान
काठमाडौं । ट्राफिक नियम उलङ्घन गरेका सवारीसाधन पहिचान गर्न काठमाडौंका थप तीन ठाउँमा अटोमेटिक नम्बर प्लेट रिकग्निसन (एएनपीआर) सिस्टमको क्यामेरा जडानको काम अगाडि बढेको छ ।
काठमाडौं महानगरपालिकाको आर्थिक सहयोगमा काठमाडौं उपत्यका प्रहरी कार्यालयले राजधानीका तीन ठाउँमा एनपीआर सिस्टमको क्यामेरा जडानको काम सुरु गरेको हो ।कार्यालयका सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले काठमाडौंको नयाँ बसपार्क, मूनी भैरव र महाराजगञ्ज क्षेत्रमा एएनपीआर क्यामेरा जडानको काम अगाडि बढेको बताए ।
“प्रहरी अहिले प्रविधिमैत्री हुँदै गइरहेको छ,” सूचना अधिकारी मैनालीले भने, “त्यही अन्तर्गत काठमाडौंका विभिन्न ठाउँमा अत्याधुनिक क्यामेरा जडान गर्न लागिएको हो ।”
यस्तो अत्याधुनिक क्यामेरा यसअघि कोटेश्वर, महालक्ष्मीस्थान र धोबीघाट क्षेत्रमा एएनपीआर विथ स्पिड डिटेक्सन क्यामेरा जडान गरिएको थियो । ती क्यामेराभन्दा अहिले जडान हुन लागेका थप क्यामेरामा के-कस्ता विशेषता हुनेछन् भन्नेबारे मैनालीले जडान गरिसकेपछि जानकारी दिने बताए ।
यसअघि जडान भएका क्यामेराको सन्दर्भमा ती क्यामेराले बाटोमा गुडिरहेका सबै सवारी साधनको गति मापन गरिरहेका हुन्छन् । यदि कसैले तोकिए भन्दा बढी गतिमा सवारी चलाएको छ वा ट्राफिक नियम उलङ्घन गरेको छ भने उसको जानकारी ट्राफिक प्रहरीको कन्ट्रोल रुमको ‘सिस्डक सेभ’ नामक प्रणालीमा जम्मा भएर बस्छ ।
त्यसपछि नम्बर प्लेटको आधारमा सवारी धनी पहिचान गरी ट्राफिक प्रहरीले कारबाही गर्छ । ट्राफिक प्रहरी नभएको ठाउँमा चालकले मौका छोपी बढी गतिमा सवारी चलाउने गरेको पाइएपछि त्यस्तो हुन नदिन यी क्यामेरा जडान गरिएको थियो । त्यसबाहेक यस्ता क्यामेरा जडान गर्दा जनशक्ति कम लाग्ने र ट्राफिक नियमनको प्रक्रिया स्वचालित हुन्छ ।
हाल उपत्यकाका अधिकांश ठाउँमा तोकिएभन्दा बढी स्पिडमा कुदाउने सवारी पहिचानका लागि ‘लिडार गन’ प्रयोग भइरहेको छ ।