गोरखा-काठमाडौँ सम्पर्क मञ्चको वनभोज तथा युवा भेला सम्पन्न

काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), गोरखा–काठमाडौँ सम्पर्क मञ्चद्वारा यही २०८० पुस २१ गते शनिबार टोखा पार्क (भूतखेल)मा वनभोज तथा युवा कार्यकर्ता भेला गरेको छ। 

उक्त कार्यक्रममा नेकपा (एस) का स्थायी कमिटि सदस्य तथा गण्डकी प्रदेश इन्चार्ज तुलबहादुर गुरुङ प्रमुख अतिथि रहनुभएको थियो। यसै गरी विशिष्ट अतिथिहरुमा पोलिटब्युरो सदस्य तथा सम्पर्क समन्वय कमिटिका इञ्चार्ज विजय गुरुङ तथा पोलिटब्युरो सदस्य तथा युवा इञ्चार्ज दिलु पन्त हुनुहुन्थ्यो। 

कार्यक्रममा युवा सङ्घ नेपाल केन्द्रीय कमिटिका उपाध्यक्ष नितेश पौडेल, गोरखा जिल्ला कमिटिका अध्यक्ष यादवबहादुर बस्नेत, बुद्धिजीवी परिषद्का महासचिव केबी खड्का, सम्पर्क विशेष प्रदेश कमिटिका सदस्य तथा केन्द्रीय परिषद् सदस्य पिताम्बर सिंखडा, गण्डकी प्रदेश सम्पर्क कमिटिका अधिकारी जगन्नाथ अधिकारी, उपाध्यक्ष सुरेशबाबु अङ्गाई, सम्पर्क विशेष प्रदेश कमिटिका सदस्यहरू द्रोणबहादुर अधिकारी, राजकुमार वाग्ले, गोकुल थापा, सुजन सापकोटा, स्याङ्जा–काठमाडौँ सम्पर्क मञ्चका अध्यक्ष राजेन्द्र क्षेत्री, सचिव कृष्ण आँशु विश्वकर्मा, नेता गोपाल भण्डारी, केन्द्रीय विभागका सदस्यहरु गौरीदेवी थापा, रञ्जन घिमिरे, गोरखा–काठमाडौँ सम्पर्क मञ्चका सल्लाहकारहरू त्रिलोचन धिताल, शालिग्राम कट्टेल, रञ्जन दवाडी, उर्मिला कुँवरलगायत, अनेरास्ववियूका उपाध्यक्ष मेघनाथ चापागाईं, युवा सङ्घका उपमहासचिव अम्बिका पौडेल, नेताहरू रोशन थापा, प्रेम गौतमलगायत दर्जनौँ नेता कार्यकर्ताको उपस्थिति रहेको थियो। 
 
कार्यक्रममा गोरखा–काठमाडौँ सम्पर्क मञ्चको मातहत क्रियाशील रहने गरी युवा सङ्घ नेपाल गोरखा–काठमाडौँ सम्पर्क समिति घोषणा गरिएको थियो। उक्त युवा कार्यकर्ता भेलाबाट विपिन ढकालको अध्यक्षतामा ११ सदस्यीय युवा सङ्घ गठन गरिएको थियो। उपाध्यक्षमा सुवास खनाल, सचिवमा मीरा खत्री र सदस्यहरूमा अनिश भट्ट, निरोज भट्ट,आशीष खत्री, जोडन सिंह बि.क., काशी गुरुङ, जितबहादुर गुरुङ, सविता खनाल र सुस्मिता खड्का रहेका छन्। यसै गरी गोरखा–काठमाडौँ सम्पर्क मञ्चका सल्लाहकारका रुपमा त्रिलोचन धिताल, शालिग्राम कट्टेल, गौरीदेवी थापा, रञ्जन दवाडी र उर्मिला कुँवरलगायतलाई मनोनयन गरिएको कार्यक्रमका संयोजक तथा आर्थिक विभाग प्रमुख रञ्जन घिमिरेले बताउनुभएको छ। 
 
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) पार्टी सङ्गठनको सुदृढीकरण, विस्तार तथा पार्टी गतिविधिलाई थप क्रियाशील गर्ने उद्देश्यले आयोजना गरिएको वनभोज तथा युवा कार्यकर्ता भेलाका प्रमुख अतिथि तुलबहादुर गुरुङले समाजवाद निर्माणका निम्ति पार्टी कटिबद्ध भएर लागेको र आगामी महाधिवेशनले पार्टीको समाजवादी कार्यदिशालाई प्रस्ट पारेर लाने बताउँदै पार्टीमा २० देखि ४० वर्ष उमेर समूहका युवाहरूलाई पार्टीको महाधिवेशनमा ४० प्रतिशत प्रतिनिधित्व गराउँदै केन्द्रीय सदस्यमा समेत सोहीअनुसार प्रतिनिधित्व सुनिश्चित गर्न लागिएको बताउनुभयो। 

पार्टीका स्थायी कमिटि सदस्यसमेत रहेका गुरुङले जग्गाजमिन राज्यको हुन्छ भन्ने अवधारणा समाजवादी कार्यक्रमको पहिलो सर्त हुने बताउँदै नेपाली समाजमा जनताको इच्छाविपरीत जग्गाको अधिकरण गर्ने कुरा कठिन हो भन्नुभयो। नेपालमा समाजवादी व्यवस्थाको निर्माण तत्कालै हुन्छ भन्नु सस्तो लोकप्रियता मात्रै हुने बताउँदै उहाँले पुँजीवादी व्यवस्थाबाट मुलुकलाई समाजवादको यात्रामा लैजानका निम्ति पार्टीले अग्रमोर्चामा रहेर नेतृत्व लिने बताउनुभयो।
 
कार्यक्रममा पोलिटब्युरो सदस्य विजय गुरुङले सम्पर्क मञ्चले युवा भेलालगायतका कार्यक्रमबाट पार्टी गतिविधिलाई क्रियाशील तुल्याउन भूमिका खेलेकोमा प्रशंसा व्यक्त गर्दै हालसम्मको गतिविधिलाई हेर्दा गोरखा–काठमाडौँ सम्पर्क मञ्च गण्डकी प्रदेशकै उत्कृष्ट सम्पर्क मञ्च बन्न सफल रहेको बताउनुभयो। युवा सङ्घ गोरखा–काठमाडौँ सम्पर्क समितिको घोषणा गर्दै युवा इञ्चार्ज समेत रहनुभएकी पोलिटब्युरो  सदस्य दिलकुमारी पन्तले युवा आकर्षणको केन्द्र युवा सङ्घ भएको र युवाहरुको क्रियाशीलता आधारमा पार्टी सक्रिय हुने भएकाले युवाहरुको प्रवेश र युवाहरुलाई सङ्गठित गरेर अगाडि बढ्नुपर्ने अवस्था रहेको बताउनुभयो। 

युवाहरूको युवा सङ्घमा आकर्षण बढ्नु पार्टी निर्माणमा कोसेढुङ्गा साबित हुनु हो भन्नुहुन्दै नेतृ पन्तले युवाहरुलाई नयाँ नयाँ कार्यक्रम दिएर क्रियाशील बनाउन आह्वान गर्दै सिङ्गो कमिटिलाई कार्यकालको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । यसै क्रममा इञ्चार्ज पन्तले नवनिर्वाचित कमिटिलाई सपथ खुवाउनुभएको थियो। 
 
कार्यक्रममा नेकपा (एस) गोरखा जिल्ला कमिटिका अध्यक्ष यादवबहादुर बस्नेतले कार्यकर्ता जन्माउने सम्पर्क मञ्च रहेको बताउँदै सम्पर्क मञ्चले जिल्ला पार्टीलाई समेत क्रियाशील कार्यकर्ता पठाउन आवश्यक रहेको र गोरखा जिल्ला पार्टीको सुदृढीकरणका निम्ति सम्पर्क मञ्चले सहयोगीे भूमिका खेल्नुपर्ने बताउनुभयो । पार्टीको नीति र सिद्धान्तलाई सही ढङ्गले प्रयोग गर्न सकेमा पार्टीप्रति आम जनताको विश्वास बढ्ने बताउँदै जिल्लामा आफू पार्टीलाई थप क्रियाशील तुल्याउँदै सङ्गठन विस्तारको अभियानमा लागिरहेको बताउनुभयो। 

युवा सङ्घ नेपालका उपाध्यक्ष नेता नितेश पौडेलले क्रियाशीलताले नै नेता जन्माउने हो भन्नुहुँदै पार्टीले क्रियाशीलताका आधारमा मूल्यांकन गर्ने बताउनुभयो । पौडेलले युवा कार्यकर्ता पार्टीको ऊर्जा भएको बताउनु हुँदै सम्पर्क मञ्चहरूले युवाहरुको भेला गरी क्रियाशील गराउन प्रयत्न गर्नु उदाहरणीय कार्य हो भन्दै पार्टीमा विचारको बहस जरुरी रहेको बताउनुभयो। नेता पौडेलले कठिन घडीमा जसले योगदान गर्न सक्यो उही नै नेता बन्ने बताउँदै आआफ्नो क्षेत्रमा खटिरहन आम युवाहरुलाई आह्वान गर्नुभयो। 

कार्यक्रममा सम्पर्क विशेष प्रदेश कमिटिका सदस्य द्रोणबहादुर अधिकारीले कम्युनिस्ट सरकारको निर्माणका निम्ति दुई दशकभन्दा बढी सम्पर्क मञ्चमा रही काम गरेको सत्तामा पुगेपछि कम्युनिस्टहरुले सर्वहारावादी चरित्र त्याग गरी अधिनायकवादी र व्यक्तिवादी चरित्र प्रस्तुत गरेको हुँदा विद्रोह गर्न बाध्य भएको कुरा जानकारी गराउँदै आफ्ना मातहतमा रहेको सम्पूर्ण कमिटिको जिम्मेवारी बहन गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो। 

यसै गरी युवा सङ्घका नवनिर्वाचित अध्यक्ष विपिन ढकालले सम्पर्क र पार्टीलाई क्रियाशील तुल्याउन युवाहरुको सक्रियता बढाउनका निम्ति अहम् भूमिका निर्वाह गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो। उक्त कार्यक्रम सम्पर्क मञ्चका अध्यक्ष विश्वज्योति बानियाँको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रमको सहजीकरण सचिव आकाश अर्यालले गर्नुभएको थियो। 

मनोरञ्जनात्मक वनभोज कार्यक्रमअन्तर्गत म्युजिकल चियर, हाँडी फुटाउने कार्यक्रमका अतिरिक्त कलाकारहरुद्वारा विशेष प्रस्तुतिसहितको नाचगानको कार्यक्रमसमेत गरिएको थियो। उक्त कार्यक्रममा हाँडी फुटाउने कायक्रममा युवाका तर्फका अनिश भट्टले प्रथम पुरस्कार पाउनुभएको थियो भने बालबालिकातर्फ ऐश्वर्या अर्याल यसै गरी म्युजिकल चेयरतर्फ युवाका तर्फबाट आशा केसी र बालबालिकातर्फ दिप्सन ढकालले प्रथम पुरस्कार प्राप्त गर्नुभएको थियो। पुरस्कार सम्पर्क मञ्चका अध्यक्ष विश्वज्योति बानियाँले वितरण गर्नुभएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us