राष्ट्रिय सभाका १९ सदस्य चयन गर्न आगामी माघ ११ गते हुने निर्वाचनका लागि आज मनोनयन दर्ता गरिँदै छ। राष्ट्रियसभा सदस्य पदका लागि बागमती प्रदेशबाट सत्ता गठबन्धनबाट ४ जना उम्मेदवारले मनोनयन दर्ता गरेका छन् । सोमवार हेटौंडास्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर सत्ता गठबन्धनबाट नेपाली कांग्रेसले २ र नेकपा माओवादी केन्द्र तथा नेकपा एकीकृत समाजवादीबाट एक एक जनाले मनोनयन दर्ता गरेका हुन् ।
जम्मा ६ सिट पाएको नेकपा माओवादी केन्द्रले यस प्रदेशमा घाइते/अपांगता क्लस्टरमा एक सिट पाएको छ। जसमा नुवाकोटका श्री कृष्ण अधिकारीलाई उम्मेदवार बनाइएको छ। १० वर्षे जनयुद्धमा होमिएका अधिकारीको यो पहिलो संसदीय यात्रा हो।
यस्तै १० सिट पाएको नेपाली कांग्रेसले बागमती प्रदेशमा दुई उम्मेदवार पाएको छ। जसमा महिलातर्फ विष्णुदेवी पुडासैनी र अन्यमा जितजंग बस्नेत छन्।
पुडासैनी नेपाल महिला संघ काठमाडौँकी अध्यक्ष हुन्। उनी प्रकाशमान सिंह समूहकी हुन् भने यो संसदीय यात्रा उनका लागि पनि पहिलो बन्दै छ। बस्नेतलाई २०७९ मंसिर ४ को निर्वाचनमा पार्टीले प्रतिनिधि सभातर्फ ललितपुर क्षेत्र नम्बर ३ बाट उम्मेदवारीका लागि सिफारिस गरेको थियो। तर सत्ता गठबन्धन दलको भागबन्डाले उनले टिकट भने पाएनन्। बस्नेत कांग्रेस केन्द्रीय सदस्य तथा नेपाल तरुण दलका पूर्वअध्यक्ष हुन्।
यस्तै नेकपा एकीकृत समाजवादीले बागमती प्रदेशमा दलित क्लस्टरमा दोलखाका घनश्याम रिजाल विश्वकर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको छ। विश्वकर्मा एकीकृत समाजवादी दोलखाका निवर्तमान उपाध्यक्ष हुन् भने दलित मुक्ति संगठनका केन्द्रीय महासचिव तथा सुनचाँदी कला व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष पनि हुन्।