
गौतम बुद्धले बुद्धत्व प्राप्त गर्नुअघि खीर खाएको दिनको सन्दर्भ पारेर आज लुम्बिनीमा खीर चढाइएको छ । बुद्ध धर्मावलम्बीहरुको पवित्र दिनका रुपमा लिइने आज बुद्धको जन्मस्थल लुम्बिनीमा ’खीर दान’ कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन् सोङले त्यहाँका करिब एक हजार भिक्षुलाई सामूहिक खीर दान गर्नुभएको छ । सिद्धार्थ गौतमले घर छाडेर तपस्यामा बसेका बेला एक महिलाले खीर खुवाएको र त्यसैको प्रभावले बुद्धत्व प्राप्त भएको दिनका रुपमा आजको दिनलाई बुद्ध धर्मावलम्बीहरुले उत्सवका रुपमा मनाउने गरेका छन् ।
बुद्ध धर्मका ग्रन्थहरुमा उल्लेख भएअनुसार सिद्धार्थले गृहत्याग गरेपछि छ वर्षसम्म तपस्या गरेपनि दुःखको संसार समाप्त नहुँदा चिन्तित थिए । ज्ञान प्राप्तिका लागि भोजन कम गर्नुपर्ने गुरुको सल्लाहअनुसार उनले खाना कम खान थाले । तर, ज्ञान त प्राप्त भएन, शरीर भने कमजोर हुँदै गयो । अन्तमा हड्डी र छालामात्र बाँकी रह्यो ।
निराहार तपस्या बसेका सिद्धार्थ निकै कमजोर भइसकेको अवस्थामा सुजाताले खीर खुवाएको र त्यसले शरीरमा शक्ति सञ्चार भएपछि ज्ञान प्राप्त भएको विश्वास गरिन्छ । सोही घटनालाई उत्सवको रुपमा मनाउन थालिएको हो ।
आजको दिनलाई संसारभरका बुद्ध धर्मका अनुयायीहरुले विशेष पर्वका रुपमा मनाउने गरेका छन् । विशेषगरी चिनियाँ बुद्ध धर्मावलम्बीहरुले आजको दिनलाई विशेष मान्ने गरेका छन् । खीर खुवाउने कार्यक्रमकै लागि हिजोमात्र चीनबाट आएका १६७ जना भिक्षुहरु लुम्बिनी पुगेका थिए । अहिले लुम्बिनीमा चार सय चिनियाँ भिक्षुहरु छन् ।
आज साँझ मायादेवी मन्दिर परिसरमा दीप प्रज्वलन कार्यक्रम रहेको लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले जानकारी दिए ।
स्राेत : जनआस्था