
विराटनगर। कोशी प्रदेश सरकारले भौतिक पूर्वाधार विकासमन्त्री कमलप्रसाद जबेगुको नेतृत्वमा आन्दोलनरत पहिचान पक्षधरसँग वार्ताका लागि तीन सदस्यीय वार्ता समिति गठन गरेको छ ।
प्रदेश मन्त्रिपरिषद्को शनिबार बसेको बैठकले मन्त्री जवेगुको नेतृत्वमा पर्यटन, वन तथा वातावरणमन्त्री गणेश उप्रेती र सदस्य सचिवमा आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव लक्ष्मीप्रसाद पौडेल सहितको तीन सदस्यीय वार्ता समिति गठन गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री शमशेर राईले बताउनुभयो ।
प्रदेशसभा बैठकले प्रदेशको नाम कोशी पारित गरेदेखि नै पुनः नामकरण माँग गर्दै आन्दोलन गर्दै आएका छन् । आन्दोलनका क्रममा पहिचान पक्षधर पदम लिम्बूको समेत मृत्यु भएको थियो ।
वार्ता समितिको बैठक बसी कार्यविधि तय गरेर आन्दोलनरत पक्षलाई वार्ताका लागि पत्राचार गरी वार्ता प्रक्रिया अघि बढाउने संयोजक मन्त्री जबेगुले बताउनुभयो ।