‘लसुनमा कार्बोहाइड्रेट, प्रोटिन, फसफोरस, एसकरबिक एसिड जस्ता पौष्टिकताको दृष्टिले पनि अतिनै राम्रो मानिन्छ’

काठमाडौं माघ, १९। पछिल्लो समय लसुनको मूल्य सूनझैं आकासिएको छ । व्यवसायिक रुपमा यसको खेती गर्नसके परनिर्भता हुन पर्दैन थियो । परनिर्भता हुँदा बेला बेला अभाव र महङ्गिको मारमा पर्न पर्दैन थियो । तर हामीले कुनैं पनि कुराको व्यवसायिक रुपमा खेती गर्दा त्यस सम्वन्धि जान्न जरुरी छ । लसुन खेती गर्दा पनि यी तलका महत्वपूर्ण बुदाहरु जान्न जरुरी देखिन्छ । 

लसुन मसला बाली रुपमा प्रयोग गरिन्छ । तरकारी, अचार, चटनी, मासुको स्वाद बढाउन लसुनको प्रयोग गर्ने गरिन्छ । यसको सुख्खा धुलो बनाएर प्रयोग गर्ने प्रचलन बढी रहेको छ । लसुनमा कार्बोहाइड्रेट, प्रोटिन, फसफोरस, एसकरबिक एसिड जस्ता पौष्टिकताको दृष्टिले पनि अतिनै राम्रो मानिन्छ । लसुन एक औषधीय वालीको रुपमा लिन सकिन्छ । यसको खेती फराकिलो हावापानी अर्थात तराई देखि उच्च पहाडसम्म गर्न सकिन्छ । गानो बन्नका लागि लामो दिन र उच्च तापक्रम चाहिन्छ ।

१. लसुन खेतीको लागी कस्तो हावापानी चाहिन्छ ?

लसुन एक फराकिलो हावापानी अर्थात तराई देखि उच्च पहाड सम्म खेती गर्न सकिने वाली हो । गानो बन्नका लागि लामो दिन र उच्च तापक्रम (विरुवा बढने भन्दा) चाहिन्छ ।

२. लसुन खेतीमा सिंचाई कहिले गर्नु पर्छ ?

लसुनले पानी जमेको र सुख्खा दुबै सहन सक्दैन । साधारण चिस्यान गानो तयार नहुन्जेल चाहिन्छ ।

३. लसुन रोप्न के कती बीउ (केस्रा) चाहिन्छ ?

लसुन रोप्न बीउ (केस्रा) ५००–६०० के.जी. प्रति हेक्टर (२५ देखि ३० के.जी. प्रति रोपनी ) आवश्यक पर्छ।

४. लसुन कतीको दुरीमा रोप्नु पर्छ ?

लसुन १०–१५  से.मी. को दुरीमा रोप्नु पर्छ ।

५. लसुन उच्च पहाडमा कहिले देखि रोप्नु पर्छ रु ?

लसुन उच्च पहाडमा साउन-भदौंमा रोप्न सकिन्छ ।

६. लसुन मध्य पहाडमा कहिले रोप्नु पर्छ ?

लसुन मध्य पहाडमा कार्तिक महिना भर रोप्न सकिन्छ ।

७. लसुन तराईमा कहिले रोप्नु पर्छ ?

लसुन तराईमा असोज १५ देखि कार्तिक १५ सम्म रोप्न सकिन्छ ।

८. लसुन खेतीको लागी के कती कसरी मल प्रयोग गर्नु पर्छ ?

लसुन खेतीको लागी ५.६ के.जी. युरिया, ८.७ के.जी., डी.ए.पी. र ६.७५ के.जी. म्युरेट अफ पोटास प्रति रोपनी जग्गा तयारीको अन्तिम वेला प्रयोग गरिन्छ भने ४ के.जी. युरिया २/२ के.जी.का दरले रोपेको ३० दिन र ६० दिन पछि प्रयोग गर्नुपर्दछ ।

९. लसुन खेतीको लागि आवश्यक पर्ने मल के कती हो ?

लसुनलाई प्राङगारिक मल प्रशस्त चाहिने भएकोले ३० टन राम्ररी पाकेको गोठे वा कम्पोष्ट मल प्रति हेक्टर जमिन तयार गर्नु अधि प्रयोग गरी खनजोत गर्नु पर्दछ । रसायनीक मलको हकमा प्रति हेक्टर १२०:८०:८० के।जी।नाइट्रोजन, फसफोरस र पोटास सिफारिस गरिएको छ ।

१०. लसुन खेतीको लागि कस्तो माटो चाहिन्छ ?

लसुनका लागी पानी नजम्ने खुकुलो माटो उत्तम हुन्छ । प्राङ्गारिक पदार्थ प्रशस्त भएको ६–७ पि.एच. भएको माटो राम्रो हुन्छ ।

११. लसुन खेतीको लागि के रोप्नुपर्छ ?

लसुन वानस्पतिक प्रसारण गरिने मसला वाली हो । लसुनको केस्रा (Clove) वाट नै प्रसारण गरिन्छ । अतः रोगकम लाग्ने स्वस्थ्य ठूला, आकर्षक गानाको बोटमै छनौट गरि बीउको लागी भण्डारण गर्नु पर्दछ । तर ख्याल गर्नु पर्ने कहिले पनि उच्च पहाडबाट ल्याएको लसुन तराईमा लगाउनु हुँदैन । भोटे टाइपका लसुनको पनि तराईमा गानो लाग्दैन ।

१२. लसुन खेतीको लागि प्रकास अवधि कति चाहिन्छ ?

लसुनको गानोको  सुरुवात, वृद्धि विकासका लागी प्रकाश अवधि १२ घण्टा वा सो भन्दा बढी हुन आवश्यक छ।

१३. लसुन वालीको लागि चाहनिे तापक्रम कति हो ?

लसुनको गानो बन्नका लागि २५–३० डि.से. तापक्रम उपयुक्त हुन्छ । १०–१५ डि. से. मा बानस्पतिक बृद्धि हुन्छ , त्यस्तै तापक्रम २० डि. से.भन्दा माथि लागेपछि गानोको विकास शुरु हुन्छ ।

१४. लसुनको क्यूरिङ्ग कसरी गर्ने ?

लसुन खने पछि खेतमै गानालाई बोटले छोपी सुकाई सम्पूर्ण बोट सुकेपछि छाया र हावामा राम्ररी सुकाई थन्काउनाले भण्डारणमा राम्रो हुन्छ ।

१५. लसुन कहिले खन्नु पर्छ ?

लसुनको गानो तयार भएपछि लसुनको बोट पहेंलिई भुईमा ढल्न थाले पछि खन्नु पर्छ ।

१६. लसुनमा गोडमेल कहिले गर्नु पर्छ ?

लसुनको पहिलो गोडाई लगाएको २५-३० दिन पछि र दोश्रो गोडाई ५०-६० दिन पछि गर्नु पर्छ ।

१७. लसुनको औषधिय गुण के-के हुन ?

लसुन एक औषधीय वाली हो । जैविक खेती प्रणालीमा खेतीको बीचबीचमा लसुन लगाउनाले किराहरु भाग्छन भनिन्छ । लसुनका १–३ केस्रा खाली पेटमा पानी सँग खाँदा जोर्नीहरु दुख्ने रोगमा फाइदा पुग्दछ । यसले रगतमा बढेको कालेस्ट्रोल ट्राइग्लिसराइडलाई पनि समान्य गराउँदछ । ५० ग्राम जति तोरीको तेलमा ४–५ लसुनको केस्रा फुराएर डढाएर एउटा भाँडोमा राखी आवश्यकता अनुसार ढाड, कम्मर, वा अन्य दुखेको भागमा प्रयोग गर्दा विशेष लाभ हुन्छ।

१८. लसुनमा कुन-कुन पौष्टिक तत्वहरु पाईन्छ ?

लसुन पौष्टिकताको हकमा सबै गानो बाली मध्ये लसुन बढी पौष्टिक छ । यो कार्बोहाइड्रेट, प्रोटिन, फसफोरस, एसकरबिक एसिडको राम्रो श्रोत हो ।

१९. लसुनको प्रयोग कसरी गरिन्छ ?

लसुन विशेष गरी मसला बालीकै रुपमा प्रयोग गरिन्छ । तरकारी, अचार, चटनी, मासुको स्वाद बढाउन लसुनको प्रयोग हुन्छ । विदेश तिर यसको सुख्खा धुलो बनाएर प्रयोग गर्ने प्रचलन बढी रहेको छ । नेपालमा पनि चाउचाउ उद्योगमा लसुनको तेल प्रयोग भएको पाईन्छ । स्वादिष्ट परिकार मःम को मुख्य मसलानै लसुन हो ।

Source: Social Media

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us