काठमाडौँ। नेकपा एकीकृत समाजवादीले आसन्न महाधिवशेनमा सदस्यता, नवीकरण, सङ्गठन विस्तार आदि कामको मुल्याङ्कनका आधारमा १० जिल्लालाई पुरस्कृत गर्ने भएको छ।

संगङ्गठन सुदृढीकरण अभियान अन्तर्गत पार्टी सदस्यता नवीकरण, अद्यावधि तथा विस्तार, राजनीतिक तथा सामाजिक गतिविधिको अभिलेखीकरण, प्रशिक्षणलगायत कार्यक्रम गरिने छन्। ती कार्यक्रमका आधारमा उत्कृष्ट जिल्ला पुरस्कृत गरिने पार्टी सचिव जीवराम श्रेष्ठले जानकारी दिनुभयो।
महाधिवेशन केन्द्रित स¬ङ्गठन सुदृढीकरण अभियानलाई थप गतिशील बनाउन यस किसिमको कार्यक्रम ल्याइएको पार्टी कार्यालय सचिव श्रेष्ठको भनाई छ। यही माघ २५ देखि आगामी चैत २५ गतेसम्म देशभर सञ्चालन हुने सो अभियान समाप्त भएलगत्तै जिल्लाको छनोट गरी पुरस्कृत गरिने उहाँले जानकारी दिनु भएको हो। पार्टीले सदस्यता नवीकरण गर्न आगामी चैत मसान्तसम्म समय तोकेको छ।
आगामी जेठमा हुने महाधिवेशनका लागि आगामी वैशाख १५ देखि २२ गतेसम्म प्रतिनिधि चयन गर्ने भएकाले केन्द्रीय निकाय, प्रदेश कमिटी, जिल्ला कमिटीलगायत कमिटीमा रहेका नेताले समयमै आफ्नो कार्यक्षेत्रका सदस्यलाई जानकारी गराउन पार्टीले निर्देशन दिएको छ। महाधिवेशनमा सहभागिताका लागि पार्टीले तल्लो कमिटीका सुझाव समावेश गरी विधान संशोधन गरिसकेको छ।