नेकपा एकीकृत समाजवादीले शनिबार काठमाडौंमा विशाल जनसभा गर्ने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले भोलि अर्थात् चैत २६ गते भृकुटीमण्डपमा जनसभा गर्ने भएको छ । मुलुकमा बहुदलीय व्यवस्था पुनःस्थापना भएको दिनको अवसरमा पार्टीले अहिलेसम्म गरेका कार्यका साथै सङ्गठन सुदृढीकरण तथा विस्तारका अभियानका लागि भेला गर्ने भएको हो ।

जनताका चाहनाअनुरुप समाजवादी यात्रालाई अगाडि बढाउन पार्टी स्थापनापछि देशभर भएका सङ्गठन निर्माण तथा विस्तारको अभियानमा जुटेको बताउँदै काठमाडौं जिल्ला कमिटी अध्यक्ष कुशुमकुमार कार्कीले केन्द्रीय अभियानअन्तर्गत काठमाडौँमा छोटो समयमै पार्टी निर्माणको कामलाई तीव्र ढङ्गले अगाडि बढाइएको जानकारी दिनुभयो ।

उहाँले स्थानीय तहको निर्वाचनमा काठमाडौंका सबै तहका साथै मोर्चामा सङ्गठन विस्तार तथा हरेक मोर्चाका नेता तथा कार्यकर्ता टोलटोलमा जनताको समस्या समाधानका लागि क्रियाशील रहने जानकारी दिनुभयो । जिल्लाअन्तर्गतका सबै सङ्घीय, प्रदेश, महानगर, नगर, गाउँ, वडा तथा प्रायः सबै टोलमा कमिटी निर्माण भइसकेका छन् ।

पार्टी अन्तर्गतका युवा, महिला, विद्यार्थी मजदुर, पेशागत सङ्गठनलगायत सबै जनसङ्गठनका वडा तहसम्म सङ्गठनलाई विस्तार गरिएको छ । सभालाई सफल बनाउन जनवर्गीय सङ्गठनलाई तयारी तथा व्यवस्थापनको विशेष जिम्मेवारी दिइएको छ । उक्त सभामा पार्टीका शीर्ष नेतृत्वले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *