काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टीको भातृ संगठन अनेरास्ववियूको चुनावी अभियान उद्घाटन गर्नुभएको छ ।
‘गाउँ गाउँ जाउँ, एकीकृत समाजवादीलाई जिताऔँ’ भन्ने मूल नाराका साथ अनेरास्ववियूले राजधानीमा आयोजना गरेको उपत्यकास्तरीय विशेष कार्यकर्ता भेलामा बोल्दै खनालले अनेरास्ववियू पार्टीको नर्सरी भएकोले आसन्न चुनावमा यसको भूमिका महत्वपूर्ण हुने जानकारी दिनुभयो ।
अनेरास्ववियूको चरित्रमा पनि समाजवादी संस्कृति झल्किनुपर्ने आवश्यकता औंल्याउँदै खनालले नेपालमा समाजवादी क्रान्तिको कार्यभार नेकपा एकीकृत समाजवादीले मात्रै पूरा गर्न सक्ने र त्यसका लागि अनेरास्ववियू अग्रपंक्तिमा उभिनुपर्नेमा उहाँको जोड थियो । नेता खनालले वर्तमान गठबन्धन कार्यनीतिक मोर्चा मात्रै भएको र आम निर्वाचन पछि यो स्वतः खारेज हुने बताउनुभयो ।