काठमाडौँ । मेलम्ची खानेपानी आयोजनाको औपचारिक उद्घाटन मङ्गलबार हुने भएको छ । मङ्गलबार सुन्दरीजलमा पूर्वप्रधानमन्त्री स्वर्गीय कृष्णप्रसाद भट्टराईको सालिक अनावरणसँगै प्रधानमन्त्री शेरबहादुर देउवाले मेलम्ची खानेपानी आयोजनाको औपचारिक उद्घाटन गर्नुहुने कार्यक्रम तय भएको छ ।
उहाँले उपत्यकावासीलाई मेलम्चीको पानी सहज वितरण गर्न सम्पूर्ण तयारी पूरा भएको समेत जानकारी दिनुभयो । मेलम्ची खानेपानी आयोजना काठमाडौँ ल्याउने परिकल्पना तथा घोषणा पूर्वप्रधानमन्त्री भट्टराईले गर्नुभएको थियो । उपत्यकावासीलाई भविष्यमा पानीको अभाव नहोस् भन्दै स्वर्गीय भट्टराईले २०५१ सालको संसदीय निर्वाचनमा आफ्नो प्रतिबद्धता पत्रमा मेलम्चीको पानी काठमाडौँ ल्याउने उल्लेख गर्नुभएको थियो ।
यसैको स्मरण गर्दै नेपाल सरकारले सुन्दरीजल स्थित प्रशोधन केन्द्र परिसरमा स्वर्गीय भट्टराईको सालिक स्थापना गर्ने भएको हो । सन २००७ देखि निर्माण सुरु भएको मेलम्ची खानेपानी आयोजना गत असार १ र साउन १७ गते आएको बाढीले ठूलो क्षति पुर्याएको थियो । लामो समयदेखि मेलम्चीको पानी आउने आशमा रहेका उपत्यकावासी बाढीका कारण आयोजना नै क्षतिग्रस्त बनेपछि निरास बनेका थिए ।