
राजतन्त्र फर्काउने भन्दै आन्दोलन गरिरहेका मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईंलाई दिइएको हतियार बारे संसदीय समितिमा प्रश्न उठेको छ ।
व्यक्तिलाई त्यस्ता खतरनाक हतियार दिने निर्णय सच्चाउन एमाले सांसद रघुजी पन्तले माग गरेका हुन् ।
बुधवार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा एमाले सांसद पन्तले आधुनिक हतियार दुरुपयोगका कारण विश्वमा अप्रिय घटना भइरहेको भन्दै व्यक्तिलाई त्यस्ता हतियार दिने नीति परिवर्तन गर्न माग गरेका हुन् । बैठकमा गृहमन्त्री रवि लामिछाने उपस्थित छन् ।
‘दुर्गा प्रसाईको हतियारबारे अदालतले समेत प्रश्न उठाएको छ, त्यस्तो हतियार राख्ने कानूनी अधिकार के हो ? यस्तो हतियार कतिजनालाई दिइएको छ, दिएका व्यक्तिको रेकर्ड राज्यसँग छ छैन ?’ गृहमन्त्री सहित सुरक्षा निकायका प्रमुख उपस्थित बैठकमा सांसद पन्तले भने, ‘प्रसाईलाई दिइएको जस्तो हतियार दिने नीति राज्यको छ छैन । दिएको छ नीति परिवर्तन गरेर भएपनि भने फिर्ता लिनु पर्छ ।’
सांसद पन्तले व्यक्तिले हतियार राख्न नपर्ने गरी राज्यको सुरक्षा बलियो हुनुपर्ने बताए ।
दुर्गा प्रसाईंले सर्वोच्च अदालतमा जाने बेला लिएको स्वचालित आधुनिक हतियार सम्बन्धमा सर्वोच्चले हिजो अनुसन्धान गर्न गृह मन्त्रालयलाई आदेश दिएको थियो ।
गत साता सर्वोच्चको गेटबाट प्रसाईंका सुरक्षा गार्ड उक्त स्वचालित हतियारसहित पक्राउ परेका थिए ।
प्रसाईंलाई त्यस्तो आधुनिक हतियार दिइएको बारे सर्वत्र चासो भइरहेको छ ।

यसअघि सर्वोच्च अदालत परिसरमा हतियार लिएर प्रवेश गर्ने दुर्गा प्रसाईंका सहयोगी पक्राउ परेका हुन् ।सोमबार दिउँसो सर्वोच्च अदालतभित्र हतियार लिएर प्रवेश गरेको पाइएपछि उनी पक्राउ परेका हुन् । उनी झापाको बुद्धशान्ति गाउँपालिका–३ का दीपक खड्का हुन् ।
खड्काले दुर्गा प्रसाईंको सुरक्षा गार्डका रुपमा काम गर्दै आएका थिए । सोमबार सर्वोच्च अदालतमा दुर्गा प्रसाईंसँग सम्बन्धित मुद्दामा सुनुवाइ थियो । उनी पेशीको लागि अदालत गएका थिए । उनको साथमा केही निजी बडीगार्ड पनि थिए ।
ती मध्ये प्रसाईंको साथमा हतियारसहित गएका खड्का पक्राउ परेका हुन् । उनको साथबाट एउटा बन्दुक बरामद गरेको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको छ ।
मेडिकल व्यवसायी समेत रहेका प्रसाईं पछिल्लो समय सामाजिक सञ्जालमा अन्टसन्ट बोलेर भाइरल छन् । उनले आफू हिँडदा निजी सुरक्षा गार्ड र गाडीको लावालस्करसहित रवाफ देखाउँदै आएका छन् ।
