काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी नेपाली जनताको मन मुटुमा रहेको बताउनुभएको छ । अध्यक्ष नेपालले जनताले आफ्नो पार्टीको चुनाव चिन्ह कलम पनि भन्न थालेको दाबी गर्नुभयो । जनसभामा बोल्दै उहाँले गफाडीहरुले गफ गर्दै जाने उल्लेख गर्दै आफूहरुले भने देश र जनताको पक्षमा काम गरेर देखाउने बताउनुभयो ।
काठमाडौं जिल्ला कमिटीको आयोजनामा आज काठमाडौंमा आयोजना गरेको शक्ति प्रदर्शन तथा खुला जनसभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले मुलुकलाई समृद्धि बनाउन अझै क्रान्तिको आवश्यकता रहेको बताउनुभयो । समाजवादको मूल मर्म र मान्यतालाई केन्द्रमा राखेर समानताका लागि कम्युनिष्ट आन्दोलन जारी रहेको उहाँको भनाइ छ ।
अध्यक्ष नेपालले विना कामको भ्यूटावर र गेट बनाउने नाममा अर्बौ बजेट खर्च स्थानीय तहमा भईरहेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो । उहाँले सो रकम युवाहरुलाई निब्र्याजी ऋणको रुपमा सरकारले दिएको भए जनता गाँस र बासको अभावमा छटपटिनुपर्ने अवस्था अन्त्य हुने दावी समेत गर्नुभयो । अध्यक्ष नेपालले निजगढ अन्तराष्ट्रिय विमानस्थल निर्माणको काम छिटो सुरु गर्न पनि सरकारको ध्यानाकर्षण गराउनुभयो ।
एमाले अध्यक्ष केपी ओलीप्रति संकेत गर्दै अध्यक्ष नेपालले गफाडीहरुलाई गफ गर्न र अरुको अपमान गर्न दिँदा हुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिले हाम्रो पार्टीको पक्षमा जनलहर नै आईरहेको छ । अहिले जनताले सबै ठाउँमा कलम भन्न थालेको छन् । एकीकृत समाजवादी भन्न थालेको छन । गफाडीलाई गफ गर्न दिनोस् । अरुको अपमान गर्न दिनोस् । हामी काम गरेर देखाऔं । इमान्दारिता, निष्ठा, समर्पणले काम गर्न गरौं । कसैले हामीलाई हेप्न नसकून।’