काठमाडौँ, वैशाख ३०, २०८१ — नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भूसालले नेपालको विकास नेपाली आफैंले गर्नुपर्ने बताएका छन् । आइतबार कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको इकोनमिक समिट-२०२४ को चौथो सत्र ‘अर्थमन्त्र: राजनीतिक नेतृत्वको प्रतिबद्धता’ मा महासचिव भूसालले नेपालको वस्तुस्थिति हेरेर विकासका योजना नबनाउने हो भने जस्ताको त्यस्तै रहने बताएका हुन् ।

‘हाम्रो साधन, स्रोत, इतिहास, संस्कृति, जनसंख्या र हाम्रो भूराजनीतिभित्र के गर्न सकिन्छ भनेर ख्याल नगर्ने हो भने हाम्रो विकास पहिला जस्तो थियो, त्यस्तै भइरहन्छ,’ महासचिव भूसालले भने । त्यस्तै उनले राज्यले निजी क्षेत्रलाई राज्यले संरक्षण नगर्ने हो भने समृद्धि हासिल गर्न कठिन हुने बताए । ‘आजको दिनमा निजी क्षेत्रलाई निजी क्षेत्र बनाउने जिम्मा राज्यको हो,’ उनले भने ।
नेपाल पछाडि पर्नुको कारण भ्रष्टाचार र घुसखोरी रहेको पनि महासचिव भूसालले बताए । ‘हामी राजनीतिक पार्टीहरू जसले सांसद चुन्छौं । संसद्बाट कानुन बनाउँछौँ, त्यहाँबाट सरकार बनाउँछौँ, त्यसबाट सिंगो राज्य चलाउँछौँ, तर मूल समस्या यही छ,’ उनले भने, ‘यसको छत्रछायामा कर्मचारी, कालाबजारी, घुसखोर सबै छौँ ।’
चिनजानका आधारमा अनुदान दिने काम तत्काल बन्द गर्नुपर्ने पनि पूर्वकृषिमन्त्रीसमेत रहेका भूसालले बताए । ‘हरेक पालिका र वडामा ५ लाख टन धान भण्डारण गर्न सक्ने गोदाम बनाऔं । कृषि, पशुपालन हेर्ने प्राविधिक पठाऔं, किसानलाई कृषि ऋण सुनिश्चित गरौं,’ उनले भने, ‘कृषि बिमालाई प्रभावकारी बनाऔं ।’
चिनजानकै आधारमा ४ कठ्ठा खेत हुनेलाई पनि ट्याक्टर दिइने गरेको उनले बताए । ‘चार कठ्ठा खेत छ, ट्याक्टर दिइएको छ, किनभने ऊ मन्त्रीको नातेदार भयो, पायो,’ उनले भने, ‘त्यसपछि मन्त्रीको नातेदार टयाक्टर बोकेर खोलामा गिटी बोक्न जान्छ,सरकारी अनुदान त्यसतर्फ जाने गरेको छ ।’
चक्लाबन्दी प्रणालीमा खेती गरेमात्र कृषि उत्पादनमा क्रान्ति ल्याउन सकिने उनले बताए । त्यस्तै उद्योगलाई कुनै न कुनै रूपमा संरक्षण दिनु पर्ने उनको सुझाव छ । राजनीतिक समस्या राजनीतिक पार्टीबाटै निम्तिएकाले पनि समाधान पनि त्यहीँबाट हुनुपर्ने महासचिव भूसालको मत छ । ‘राजनीतिक पार्टीमा लागेर टिकट लिनु भनेको पैसा कमाउनु हो, पैसा कमाएपछि अझै ठूलो टिकट लिने हो, अझै ठूलो पैसा कमाउने हो भन्ने यो दुष्चक्रलाई राजनीतिमा कसरी समाधान गर्न सकिन्छ ?,’ उनले अगाडि भने, ‘त्यहाँ ख्याल गर्न सकिए हामीले केही गर्छौँ, हामी आफैंले उब्जाएर खान नसक्नेहरुले फेरि गफ गर्दैछौँ, हामीले अब सँधै यस्तो गफ गर्न नपरोस् ।’