काठमाडाैं । गृहमन्त्री बालकृष्ण खाँणले यात्रुहरुलाई बोझ हुनेगरी भाडा नलिन यातायात व्यवसायीहरुलाई आग्रह गर्नु भएको छ । गृहमन्त्री खाँणले एकैठाउँमा जाँदा पनि फरकफरक भाडा दर दिने अवस्थामा तत्काल अन्त्य गर्नुपर्ने जरुरी रहेको पनि बताउनुभयो ।
त्यसका लागि सरकारले सरोकारवाला पक्षहरुसँग बृहत छलफल गरेर अघि बढन चाहेको गृहमन्त्री खाँणको भनाई थियो। गृहमन्त्री खाँणले सरकारले सबै खालका उद्योगी, व्यवसायीहरुको लगानीको सुरक्षा गर्ने दायित्वलाई गम्भीरतापूर्वक लिएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘यात्रुहरुलाई पनि भाडा तिर्दा धेरै बोझ नहोस् । त्यतापट्टि ध्यान दिनुपर्छ भन्ने लाग्छ मलाई। अब यात्रको बारेमा पनि बोल्नुपर्छ जस्तो लाग्यो । यात्रुहरुको गुनासो के छ भन्दाखेरी एकैठाउँमा जाँदा पनि भाडा फरकफरक हुन्छ । भाडा निर्धारण गर्दा यात्रु र व्यवसायी दुवैलाई मर्का नपरोस् । अर्को यातायातको क्षेत्रलाई प्रविधिसँग जोडेर अघि बढाउन आवश्यक ऐन, कानुन तर्जुमा गर्न सरकार सदा तयार छ।’
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको छैठौं राष्ट्रिय महाधिवेशनलाई आइतवार काठमाडौंमा उद्घाटन गर्दै उहाँले भाडा निर्धारण गर्दा यात्रु र व्यवसायी दुवैलाई मर्का नहुने बाटो अवलम्बन गर्नुपर्ने पनि स्पष्ट पार्नुभयो । गृहमन्त्री खाँणले यातायातको क्षेत्रलाई प्रविधिसँग जोडेर अघि बढाउन आवश्यक पर्ने ऐन, कानुन तर्जुमा गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभयो ।