सत्ता गठबन्धनको निर्वाचन तयारी तथा अनुगमन समितिको बैठक आज पुनः बस्दै

काठमाडौं । सत्ता गठबन्धनको निर्वाचन तयारी तथा अनुगमन समितिको बैठक आज पुनः बस्दैछ ।  गठबन्धनलाई प्रभावकारी बनाउने विषयमा छलफल गर्न आज बिहान ९ बजे पुनः बैठक बस्न लागेको समितिका सदस्य तथा एकीकृत समाजवादीका उपमहासचिव डा विजयकुमार पौडेलले जानकारी दिनुभएको छ । 

पाँच दलीय सत्ता गठबन्धनले वैशाख ३० गतेको निर्वाचन तयारी तथा अनुगमनका जिम्मेवारी समितिलाई दिएको छ । पाँचदलबीच चुनावमा गठबन्धन गरेर जाने विषयमा केन्द्रदेखि वडासम्म सहमति हुन थाले पनि चुनावी तालमेलको ढाँचामा सहमति हुन सकेको छैन। ०७४ मा आएको मतअनुसार तालमेल गर्ने कि अरू कुनै ढाँचा तय गर्ने भन्नेमा गठबन्धनभित्र छलफल भइरहेका छन्।

काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा गठन भएको समितिको आइतबार बसेको बैठकमा स्थानीय निर्वाचनमा गठबन्धनलाई कसरी प्रभावकारीरुपमा बलियो बनाउने भन्ने विषयमा छलफल भएको थियो । 

बैठकमा गठबन्धनका दलले तयार पार्ने घोषणापत्रको विषयमासमेत छलफल भएको छ। शीर्ष नेताको बैठकमा पौडेल नेतृत्वको समितिले सुझाव दिने तयारी गरेको छ। उक्त समितिको आइतबार बालुवाटारमा बसेको बैठकले तीन सुझाव दिने निर्णय गरेको थियो।

स्थानीय चुनावमा पाँचदलीय गठबन्धनबीच मात्रै तालमेलका लागि आग्रह गर्ने, प्रदेश र जिल्लालाई गठबन्धन गर्न चैत मसान्तसम्मको समय दिने र पाँचदलीय गठबन्धनका शीर्ष नेताबाट चुनावी तालमेललगायत समसामयिक विषयमा संयुक्त विज्ञप्ति जारी गर्न सुझाव दिने निर्णय भएको समितिका सचिव केशवराज जोशीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us