काठमाडौं । सत्तारुढ गठबन्धनका पाँच दलका शीर्ष नेताहरुले संयुक्त अपिल जारी गरेका छन् । आगामी वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनको सन्दर्भमा शीर्ष नेताहरुले संयुक्त अपिल जारी गरेका हुन् ।
संयुक्त अपिलमा नेपाली काँग्रेसका तर्फबाट प्रधानमन्त्री तथा सभापति शेरवहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, जनता समाजवादीका तर्फबाट वरिष्ठ नेता अशोक राई र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले हस्ताक्षर गर्नुभएको छ ।
अहिलेको लोकतान्त्रिक परिवर्तन विरोधी प्रतिगामी दुराशयबाट देश र लोकतन्त्रलाई जोगाउन पाँच दलीय गठबन्धन बनेको अपिलमा उल्लेख छ । पाँच दलको यो ऐक्यवद्दता नेपालमा लोकतन्त्र र यसका मूल्यमा आधारित समजवादको रक्षा गर्दै नेपालको स्वाधिनता,नेपाली जनताको स्वतन्त्रता र उन्नतिका स्थानीय वासिन्दाको कठिनाइ हटाउदै तिनका आवश्यकता परिपूर्ति गर्न आगामी स्थानीय तह निर्वाचनमा पनि तालमेल गरेर जाने घोषणा पनि अपिल मार्फत गरिएको छ ।
पाँच दलको गठबन्धन पहिलेका सबै आपसी मतभेदलाई पन्छाउदै चुनावमा एक अर्कालाई सहयोग गर्ने प्रण समेत शीर्ष नेताहरुले गरेका छन् ।