अर्थतन्त्र ठिक दिशातर्फ जाँदैछ : अर्थमन्त्री शर्मा

काठमाडाैं । अर्थमन्त्री जनार्दन शर्माले राजनीतिक उद्देश्य परिपूर्तिका लागि अर्थतन्त्रमा सङ्कट आएको भनेर अनावश्यक हल्ला गरिएको बताउनुभएको छ । उहाँले भन्नुभयो, “अर्थतन्त्र ठिक दिशातर्फ जाँदैछ । अनावश्यक हल्ला नगरौँ । त्यसले कोही कसैलाई पनि फाइदा गर्दैन ।”

कोरोना कहर तथा रुस र युक्रेनको सङ्घर्षका बाबजूत पनि अर्थतन्त्र सकारात्मक दिशामा गएको उल्लेख गर्दै उहाँले जसरी गलत प्रचार गरिएको छ, त्यसले कोही कसैलाई पनि फाइदा नगर्ने बताउनुभयो । अर्थमन्त्रीले भन्नुभयो, “राजनीतिकरण गर्नका लागि अर्थतन्त्र संकटमा परेको भनेर ठूलो ठूलो स्वरमा जे भनिराखिएको छ त्यसले कोही कसैलाई राम्रो गर्दैन ।”   

उद्योगधन्दा ठिक ढङ्गले सञ्चालनमा रहेको, विप्रेषण आप्रवाह पनि सकारात्मक रूपमा वृद्धि भएको उहाँले तथ्याङ्क पेश गर्नुभयो । गत फागुन मसान्तसम्म मात्रै  ९१ अर्ब बराबरको विप्रेषण आयात भएको छ ।

विप्रेषण आप्रवाहको बृद्धिका लागि वैदेशिक रोजगारीमा रहेकाले लगानी गर्न सक्ने गरी सञ्चित कोष बनाउने, प्रारम्भिक सार्वजनिक निस्काशन (आइपीओ) तथा एफपीओमा पनि कोटा छुट्याउने र विप्रेषण कम्पनीलाई बालेट प्रयोग गर्न दिनेजस्ता प्रस्ताव पनि अगाडि सारिएको बताउनुभयो ।

उहाँले अर्थतन्त्रको कारेमा तथ्याङ्कले बोल्ने भएकाले अनुमानका भरमा गरिने प्रचारको अर्थ नरहने स्पष्ट पार्नुभयो । उहाँले नियमित रूपमा ऋण पनि व्यापक रूपमा विस्तार हुनु पनि सकारात्मक नै विषय भएको बताउनुभयो । अर्थमन्त्रीले विप्रेषण आप्रवाह नियमित रूपमा बृद्धि हुने क्रममा रहेको तथा राजश्व पनि लक्षित सीमाभन्दा बढी उठीरहेको तथ्य पेश गर्दै अनावश्यक प्रचार र हल्लाको पछाडि नलाग्न सबैलाई आग्रह गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us