इन्टरनेसनल लिग अफ सोसलिस्ट युथ, इल्सीले तीनदिने समर क्याम्प फर सोसलिस्ट युथ २०२४ सम्पन्न गरेको छ। काभ्रेको धुलिखेलमा आयोजित क्याम्पमा नेपालको समसामयिक सामाजिक तथा राजनीतिक परिस्थिति, अन्तर्राष्ट्रिय समाजवादी आन्दोलन, भूराजनीति र विज्ञान तथा प्रविधिको विकाससँगै युवाको भूमिकाबारे १५ वटा सत्र सञ्चालन गरिएको थियो । सातै प्रदेशबाट सहभागी भएका ७० जना युवाले यस कार्यक्रममा सहभागिता जनाएका थिए । विभिन्न विधामा अध्ययनरत युवाले थुप्रै विषयको गहिरो छलफल र अन्तर्क्रिया गरेका छन्।


कार्यक्रममा नेपालका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, राजनीतिज्ञ अनिल सी, अर्थ राजनीतिक विश्लेषक हरि रोका, भौतिकशास्त्री प्राडा दीपकप्रसाद सुवेदी, नेपाल–चीन सम्बन्धका जानकार डा. लीला न्याइच्याईं, संविधानविद् डा. चन्द्रकान्त ज्ञवाली, काभ्रे जिल्ला समन्वय समिति संयोजक दीपक गौतम, मोटिभेसनल स्पकर नरबहादुर कार्की, राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष सुरेन्द्र बस्नेत, सञ्चारिका समूहका अध्यक्ष, विमला तुम्खेबा, इन्जिनियर डा. राम लामा, कृषि क्षेत्रका जानकार प्रमेश पोखरेल, सहायक प्राध्यापक वृजेश मिश्र, शिक्षाविद डा. चन्द्रप्रसाद लुइँटेललगायतका वक्ता रहेका थिए ।
कार्यक्रममा इल्सीका अध्यक्ष सुबाेध शेर्पालीले अध्यक्षता गर्दै कार्यक्रमको औचित्य र उपलब्धिबारे सहभागीलाई जानकारी गराएका थिए भने सेक्रेटरी माधव पन्तले इल्सीको गठन प्रक्रिया, यसका उद्देश्य र अन्तर्राष्ट्रिय ऐक्यबद्वताका विषयमा प्रस्तुति गरेका थिए ।
समर क्याम्पले युवालाई प्रगतिशील चेतको निर्माण गर्दै वैचारिक संवाद गर्ने र नयाँ दृष्टिकोण निर्माण गर्ने वातावरण निर्माण गर्नेछ । कार्यक्रममा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाजवादी आन्दोलनको ऐतिहासिक पृष्ठभूमि, यसको आजको सन्दर्भ र भविष्यमा खेल्न सक्ने भूमिकाको विषयमा अन्तर्क्रिया गरिएको छ ।
१५ वटा सत्रमा संगठनका सदस्यहरू सुदीप शर्मा, प्रकाश सी, नरेन्द्र सी, सुवित ढुंगाना, नवराज ऐर, प्रेमा लामा र सावित्री केसीले सहजीकरण गरेका थिए । समाजवादी स्कुलमा सहभागी युवालाई इल्सीको तर्फबाट प्रमाणपत्र वितरण गरिएको छ ।
कार्यक्रमको उद्देश्य युवाहरूलाई केवल राजनीतिक रूपमा सशक्त बनाउनु मात्र नभई समाजवादी आन्दोलनको कार्यदिशा, रणनीति र कार्यनीतिबारे गहन अन्तर्क्रिया गर्नु र युवाहरूलाई जानकारी गराउनु थियो । युवाहरूलाई विज्ञान र प्रविधिको विकाससँगै समाजमा कसरी युवाहरूले भूमिका खेल्ने भन्ने विषयमा पनि छलफल गरिएको थियो ।
धुलिखेलको सुन्दर वातावरणमा सम्पन्न भएको समर क्याम्पले सहभागी युवाहरूलाई नयाँ ऊर्जासहित समाजवादी आन्दोलनमा लाग्न उत्प्रेरित गर्ने अपेक्षा रहेको आयोजकको रहेको छ ।