काठमाडौं । गाजर जरे परिवारको यो एक महत्वपूर्ण बाली हो । यसको उत्पत्ति मध्ये एशियाबाट भएको मानिन्छ । यसको पहेंलो, सुन्तला रङ्गका जरा काँचै वा अन्य तरकारीसित मिसाई पकाउन सकिन्छ । गाजरमा प्रशस्त भिटामिनहरू हुन्छन् । यसलाई त भिटामिन एको प्रमुख स्रोतको रुपमा लिइन्छ । भिटामिन ए. बाहेक यसमा भिटामिन बी.सी., के आदि पनि प्रशस्त छन् । यसबाहेक क्याल्सियम, फसफोरस, फलाम जस्ता खनिज पनि छन् ।
हावापानी : गाजर खेतीको लागि १८ डि.से. देखि २० डि.से. सम्मको तापक्रम उपयुक्त हुन्छ राम्रो जरा विकास २० डि.से. मा हुन्छ । अधिक तापक्रममा गाजरको जराको रङ्ग हरियो हुन थाल्दछ । कम तापक्रममा जरा ढिलो गरी बढ्छ । यस्तोमा गाजर लामो वा छोटो हुन्छ । यसको लागि नरम खुकुलो माटो आवश्यक पर्दछ । यो प्रकाश मनपराउने बिरुवा भएको हुँदा अन्य बालीको छायाँमा फस्टाउन सक्दैन ।
वानस्पतिक विवरण तथा जात पहिचान
गाजरको विरुवाले पहिले जरा बनाउँदछ । त्यसपछि हुकु निस्कन्छ र बीउ लाग्दछ । साना मसिना बीउ आकारम जीराजस्ता तर भुस भएका हुन्छन् ।
बाली चक्र र लगाउने समय
काठमाडौं उपत्यकामा यसको खेती बाह्रै महिना गरिन्छ। यसको परम्परागत समय भने उच्च पहाडमा जेष्ठ साउनमा रोपी साउन असोजमा उखेलिन्छ । मध्य पहाडमा यसलाई भाद्र असोजमा लगाई मंसिर पुसमा बाली लिइन्छ । तराई क्षेत्रमा यसलाई असोज कार्तिकमा लगाई मसिर माघमा उखेलिन्छ ।
जग्गा तयारी तथा मलखाद
गाजर खेतीको लागि जमिन गहिरो गरी खनेको हुनु आवश्यक छ । माटोको अम्लीयपना ६.५ जति हुनुपर्छ । ज्यादै अम्लीय जमिनमा जरा बढ्न सक्दैन। पाकेको गोबर मल वा कम्पोष्ट एक टन प्रतिरोपनी हाल्नुपर्छ गाजरमा गोबरको प्रयोगबाटे जरा विभाजित हुन्छ । रासायनिक मलको हकमा ५ किलो डि.ए.पी. र २ किलो म्युरेट अफ पोटास जग्गा तयारीमा हालिन्छ ।
बीउ रोपण
गाजरको बीउ ढिलो गरी उम्रन्छ। यस्तो ढिलोपनलाई छोट्याउन बीउलाई पानीमा केही घण्टा भिजाएर रोपिन्छ । यसलाई रामरी तयार पारेको जमिनमा लाईनमा वा छरेर रोपिन्छ । लाईनमा रोप्दा एक लाईनदेखि अर्को लाईनको दुरी ४५ से.मि. राखिन्छ। लाईनमा १० से.मि. को फरकमा पर्ने गरी बीउ खसालिन्छ। एक रोपनी जग्गामा २५०-३०० ग्राम बीउ लाग्दछ। माटोको उपयुक्त चिस्यानमा यो एक हप्तामा उम्रन्छ ।
गोडमेल र सिंचाई
गाजर उमेपछि गोडमेल, झारपातको नियन्त्रण र सिंचाईको प्रबन्ध गरिनु आवश्यक छ । रोपेको बीउ सिफारिश गरिएको दुरी भन्दा बाक्लो छ भने बेडाउन अति आवश्यक छ । उम्रेका बेर्नाहरू शुरुको अवस्थामा ढिलो गरी बदछन् र यस अवस्थामा झारपातले छोप्नेहुँदा तिनको नियन्त्रण गर्नु आवश्यक छ। गोडमेल गरेर झारपातको नियन्त्रण गरिन्छ । माटोको चिस्यान हेरी १-२ पटकसम्म सिंचाई दिनु लाभदायक छ ।
बाली संरक्षण
गाजरमा आक्रमण गरी हानीगर्ने कीराहरूमा लाही पात खाने लाभे आदि पर्दछन् । यसको नियन्त्रणको लागि घरेलु विषादी वा नुमान छर्कन सिफारिश गरिन्छ ।
रोगहरूमा गाजर बालीमा भाइरस रोग, जरा कहिने रोग र पातको थोप्ले रोग लाग्दछ। भाइरस रोगको रोकथामको लागि त्यो रोग सार्ने कीरा (भेक्टर-लाही वा अन्य ) को नियन्त्रण गर्न जरुरी छ।
बाली तयार तथा फसल उत्पादन
जातको आकार र तयार हुने अवधि हेरी गाजरको बाली उखेलिन्छन् । यो प्रति रोपनी ६००-७०० किलोसम्म फल्दछ ।
प्रशोधन, भण्डारण तथा बजार व्यवस्था
उखेलेर गाजर राम्ररी धोई पखाली मुठा पारी बेचिन्छन् । ठूलो परिमाणमा पात काटी जराहरू काठको टोकरी वा बाकसमा बन्द गरी ढुवानी गरिन्छ । गाजरलाई उपयुक्त वातावरणमा लामो अवधिसम्म सुरक्षित राख्न सकिन्छ । शून्य डि.से.र ९३-९८ प्रतिशत सापेक्षिक आर्द्रतामा यो ६ महिनासम्म भण्डारण गर्न सकिन्छ ।
स्रोत:- तरकारीबाली विकास केन्द्र, खुमलटार, ललितपुर