सयपत्री फूलको बिक्रीबाट करिब पाँच लाख आम्दानी

वालिङ (स्याङ्जा), २३ कात्तिक । स्याङ्जाको चापाकोट नगरपालिका–१ बेलडाँडाका किसान तुल्सीराम भण्डारीले यस वर्षको दसैं र तिहारमा सयपत्री फूलको बिक्रीबाट रु पाँच लाख कमाएका छन्। भण्डारीले यो अवधिमा १,८४५ थान माला र १,३७६ केजी फूल बिक्री गरेका हुन्।

उनले फूल बिक्रीबाट रु तीन लाख ४४ हजार र माला बिक्रीबाट रु एक लाख ४७ हजार ६०० गरी कुल रु चार लाख ९१ हजार ६०० कमाएको जानकारी दिएका छन्। भण्डारीले फूलको प्रतिकेजी रु २५० देखि रु ३०० सम्म र मालाको प्रतिगोटा रु १५० सम्ममा बिक्री गरेका थिए। यहाँ उत्पादन भएका फूल र मालाको खपत भैरहवा, नारायणगढ, बर्दघाट लगायतका बजारमा भएको उनले बताए।

“मागअनुसार फूल र माला उपलब्ध गराउन सकिनँ,” भण्डारीले भने, “सयपत्रीको व्यावसायिक उत्पादन र बजार राम्रो पाइयो।” मङ्सिर महिनाभरि फूल उत्पादन हुने र केही दिनमा भैरहवाको माग पूरा गर्न फूल पठाउने तयारी रहेको पनि उनले जनाएका छन्।

कृषि प्राविधिक पृष्ठभूमिका उनका छोरा रामचन्द्र भण्डारीले फूलको प्राविधिक र बजारीकरणमा बाबुलाई सघाउँदै आएका छन्। “फूलका बोटबाट अझै उत्पादन लिन सकिन्छ,” रामचन्द्रले भने, “विवाह, व्रतबन्ध, पूजा, मेला महोत्सवमा फूलको माग उच्च हुनेछ।” उनका अनुसार दसैं-तिहारको अवधिमा करीब रु पाँच लाख आम्दानी भएको र अब बाँकी फूलबाट झण्डै रु दुई लाख आम्दानी हुने अनुमान छ।

भण्डारीले बाँदरले अन्नबाली नष्ट गरेपछि विकल्पको रूपमा फूलखेती थालेका थिए। विगतमा मकै, गेडागुडी, तरकारी उत्पादन गर्दै आएका उनले बाँदरको समस्या बढेपछि अन्नबालीको सट्टा फूलखेतीलाई प्राथमिकता दिएका हुन्। उनले यसवर्ष दसैं-तिहारलाई लक्षित गर्दै दुई हजार बिरुवा सयपत्री फूल रोपेका थिए। स्थानीय जलपादेवी आधारभूत विद्यालयका प्रधानाध्यापकसमेत रहेका भण्डारीले बाँदरले फूलखेतीलाई क्षति नपु¥याएकाले आगामी वर्षमा फूलको उत्पादन अझै बढाउने तयारी गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us