बाँके, कात्तिक २८ – बाँके जिल्लामा कोदोखेतीको पहिलो सफल परीक्षण गरिएको छ। सामुदायिक जिन बैंक सञ्जालले बैजनाथ गाउँपालिका-१, चिसापानीस्थित गाभर भ्यालीमा यो परीक्षण सञ्चालन गरेको हो। गत साउनमा रोपिएको कोदो अहिले लहलह झुलेको छ, जसले यहाँका किसानहरूलाई उत्साहित बनाएको छ।
पहाडी र हिमाली क्षेत्रमा मात्रै उत्पादन हुने कोदो अब तराईमा पनि सफलतापूर्वक फलाइएको छ। “मैले बाँकेमा कहिल्यै कोदोखेती भएको देखेको थिइनँ, गाभर भ्यालीमा कोदो फलेको देखेपछि मलाई पनि खेती गर्न मन लागेको छ,” बाँकेका रामबहादुर बुढाले बताए।
सञ्जालका संयोजक पुरमल बस्नेतका अनुसार डेढ कट्ठाभन्दा बढी जग्गा भाडामा लिएर कोदोका विभिन्न प्रजातिको परीक्षण गरिएको हो। केही प्रजातिबाहेक अधिकांशले राम्रो उत्पादन दिएको छ। “हामी मङ्सिरको पहिलो सातातिर कोदो काट्ने योजना गरिरहेका छौँ,” बस्नेतले भने।
यो परीक्षणले तराईमा कोदोखेतीको सम्भावना देखाएको छ। जिन बैङ्कले उत्कृष्ट देखिएका पाँच प्रजातिका साथै नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले विकास गरेका दुई प्रजाति र स्थानीय किसानले उत्पादन गरेका दुई प्रजाति गरी विभिन्न नौ प्रजातिको कोदो रोपेको थियो। नार्कका प्राविधिकहरूको सहायतामा गरिएको यो परीक्षण मङ्सिरको पहिलो सातासम्म पूरा हुनेछ।
गाभर भ्यालीमा विसं २०७८ मा स्थापना भएको सामुदायिक जिन बैङ्कले यसअघि पनि विभिन्न रैथाने अन्नबाली, वनस्पति, पशुपन्छी, मौरी तथा जलीय क्षेत्रमा काम गर्दै आएको छ। घरबास सञ्चालक सङ्घका महासचिव कृष्ण चौधरीका अनुसार, रैथाने बालीको संरक्षणका लागि यो परीक्षण गरिएको हो, जसले तराईमा कोदोखेतीको नयाँ सम्भावना देखाएको छ।